- नमस्कार शाह -
समाजको समग्र बिकासमा पत्रकारिताको भूमिका अहम् छ । सामाजिक जागरण, गलत गर्नेका बिरुद्ध रखवारी, सकारात्मक कार्यहरुको उजागर, नकारात्मक पक्षको पर्दाफास गरेर पत्रकारहरुले पत्रकारिताका माध्यमबाट सामाजिक जवाफदेहिता बहन गरिरहेका हुन्छन् । अर्काे तर्फ आम नागरिकहरुको अधिकार प्राप्तिका लागि सञ्चार पैरवि गरेर अधिकारमुखि अवधारणाबाट पनि अगाडी बढेको पाईन्छ ।
परिवर्तनशिल समय अनुसार पत्रकारिताको महत्व झन बढेर गईरहेकोछ । राज्यले पत्रकारितालाई चौथो अँग भनेता पनि आम नागरिकले पहिलो अँगको रुपमा पत्रकारितालाई लिईरहेका छन् । किनभने यहि अंगबाट अन्य अँग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका गुह्य कुरा र सकारात्मक कुरा आम नागकिहरुले थाहा पाउँछन्, पत्रकारिताको माध्यमबाट राम्रा, नराम्रा कुराहरु थाहा पाएर आ—आफ्नो दृष्टिकोण बनाउँछन् ।
आम सञ्चार अव आधारभुत कुरा भईसक्यो । मान्छेका आधारभुत कुरा गास, बास र कपासपछि नभई नहुने कुरा सञ्चार भईसक्यो । जसले अधिकारमा बस्नेहरुका कुरा आमजनतालाई र आम जनताका कुरा अधिकारमा बस्नेहरु सम्म पुर्याउने काम गर्दछ । त्यसैले सञ्चार माध्यम अधिकारमा बस्नेहरुको देखि आम नागरिकका लागि उत्तिकै महत्वपूर्ण छ ।
पछिल्लो बिकसित स्वरुप र सञ्चारिकरणले बिश्वलाई एउटा गाउँको रुपमा रुपान्तरण गरिदिएकोछ । बिभिन्न नयाँ, नयाँ प्रविधिहरुका कारण सञ्चारमाध्यमहरु बढिरहेकाछन् । छापा सञ्चार माध्यम, रेडियो, टेलिभिजनले मात्रै पत्रकारिताको भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन अहिले । इन्टरनेटको बढ्दो बिकासले अनलाइन, फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालले सूचनामा नागरिकहरुको पहुँच ह्वात्तै बढाईदिएकोछ । सामान्य व्यक्तिले पनि अहिले सञ्चारकर्मीको भूमिका निर्बाह गरेकोछ । जसबाट नागरिक पत्रकारिता शुरुवात भएको महसुस गर्न सकिन्छ । यसले एकातिर समाजलाई सुसुचित गर्ने काम गरेकोछ भने अर्काे तर्फ भ्रम फैलाउने काम पनि भईरहेकोछ । लोकप्रियताका कारण पत्रकारितामा आकर्षण बढेकोछ तर बुझेका, पढेका व्यक्तिहरुको आगमन पत्रकारितामा नहुँदा बिबेक शुन्य भिँड पत्रकारितामा लागिरहेकोछ । जसबाट समाजले सृजनशिल कुरा प्राप्त गर्न सक्दैन ।
पत्रकारिता भित्रका बिृकति र बेथतिका कुरा गर्दा लामै फेहरिस्त बन्न सक्दछ तर क्षमता भएका, पढे लेखेका, पत्रकारिता बुझेका पत्रकारहरुको कमि पनि छैन नेपाली पत्रकारितामा । जसले साँच्चिकै पत्रकारिताको मर्ममा रहेर पत्रकारिता गरिरहेकाछन् । सकारात्मक सोच भएका, क्षमता भएका पत्रकारहरुका लागि पत्रकारितामा अवसर छ, भविष्य छ ।
पत्रकारितामा अवसर छैन, भविष्य छैन भनिरहने तर पेशा नछाड्नेहरु पनि छन्, त्यस्ता हरिलठ्ठकहरुको पछि लागियो भने पत्रकारितामा अवसर छैन जस्तो पनि लाग्ला तर बास्तविकता त्यस्तो छैन । पत्रकारिता गरेर नाम, दाम कमाउन सफल पत्रकारहरुको सँख्या ठूलो छ । कुरा यति हो नाम र दाम कमाउनका लागि काम गर्नु पर्दछ । थोरै काम गरेर सबै भन्दा चाँडो सबैसँग परिचित हुने, चर्चित हुने कुनै पेशा छ भन त्यो पत्रकारितानैं हो । पत्रकारितामा लाग्नेहरुलाई आम नागरिकले बौद्धिक, क्षमतावान व्यक्तिको रुपमा मात्र नभई सेलिब्रेटिकै रुपमा लिने गर्दछन् ।
नेपाल विकासोन्मुख देश हो, यसले बिकासको गति समात्दैछ, बिकासका सबै कार्यहरुमा सञ्चारगृह र पत्रकारको उपस्थिति जरुरीछ । किनभने विकासमा आर्थिक कारोबार जोडिएको हुन्छ, आर्थिक चलखेल भयो, आर्थिक हिनामिना भयो, पारदर्शीता भएन भने बिकास अघि बढ्न सक्दैन । यस्तो कुरामा रखवारी गर्ने कार्य पत्रकारिताको हुन जान्छ । यसबाट पत्रकारिताको धर्म त निर्बाह हुन्छ, हुन्छ साथ साथमा बिकासमा योगदान पनि गरेको ठहरिन्छ ।
आम नागरिकहलाई न्याय दिलाउन सम्बन्धित क्षेत्रलाई घच्घच्याउने काम पनि पत्रकारकै हो । सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र कानून सम्मत रूपमा सहि–गलतको खबरदारी गर्ने कार्य पत्रकारले बाहेक अरुले गर्न सक्दैन । यो पनि एउटा अवसर हो ।
सञ्चार माध्यमले हरेक परिवर्तन र बिकासमा जनसहभागिता प्रवद्र्धन गर्न सक्दछ, गरिरहेको पनि छ, यो अर्काे अवसर हो आम पत्रकारका लागि । पत्रकारहरुको अतुलनिय योगदान र अवसरसँग सँगै केही समस्याहरु पनि छन् । ति समस्याहरुको समाधान गर्दे अघि बढ्न जरुरी छ ।
दिनहुँ खुलिरहेका एफएम, टेलिभिजन, अनलाईन, पत्रपत्रिकाले थुप्रै अवसरहरु प्रदान गरिरहेकोछ पत्रकारहरुका लागि । बिट पत्रकारिता, खोजी पत्रकारिता लेखन क्षमता भएका पत्रकारहरुका लागि महत्वपूर्ण अवसर हो । बिषयबस्तुको अव्वल छनौटले पत्रकारहरुलाई स्थापित गराईदिने गरेकोछ ।
पत्रकारिताको धर्म, व्यवसायिकता, निर्भिकता पालना गर्दै पत्रकारिताको आचारसंहिताको मातहतमा रहि पत्रकारिता गर्नेहरु कहिले अभावमा बाँच्नु पर्ने अवस्था छैन । तर दिनभर व्यापार, व्यवसायमा सँलग्न हुने, दिनहुँ पार्टीको काममा दौडधुप गर्नेहरु पत्रकारितामा आए भने पक्कै पनि राम्रा पत्रकारहरुको अवसर नक्कलि पत्रकारहरुले खोसिदिन्छन् त्यसमा सबै सचेत बन्नु पर्दछ ।
अर्काे महत्वपूर्ण अवसर भनेको पत्रकारिता बिषय पढ्न पाउनु हो । पत्रकारिता प्रबद्र्धनका लागि पत्रकारिता विषयको औपचारिक अध्ययन हुन थालेको चार दशक बितिसकेको छ । प्रविणता प्रमाणपत्र तहमा पत्रकारिता विषयको अध्ययन–अध्यापनको सुरुवात त्रिभुवन विश्वविद्यालयबाट भएको हो ।
विश्वविद्यालयमा वि.सं. २०५८ देखि स्नातकोत्तर तहसम्म पत्रकारिता बिषयको अध्यापन हुने गरेको छ । पी.एच.डी. तहसम्म पत्रकारिता विषयको अध्ययन गर्न पाउने व्यवस्था त्रिभुवन बिश्वबिद्यालयले गरेको छ । साथै पूर्वाञ्चल विश्वविद्यालयले वि.सं. २०५८ देखि स्नातक र स्नातकोत्तर तहमा आमसञ्चार र पत्रकारिता विषय पठन, पाठन गराईरहेको छ । काठमाडौँ विश्वविद्यालयले समेत करिब एक दशकअघिदेखि चार वर्षे स्नातक तहमा मिडिया अध्ययन विषयको अध्यापन गराउँदै आएको छ । पछिल्लो समय मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले पनि पत्रकारिता र आमसञ्चार विषयमा स्नातक तहमा पढाई थालनी गरेका छन् । यसरी सबै बिश्वबिद्यालयका करिव एक दर्जन क्याम्पसहरुमा पत्रकारिता पढाई भईरहेकोछ । यो पत्रकारिता गर्न चाहनेहरुका लागि राम्रो अवसर हो । यति मात्र होईन उच्च शिक्षा परिषद्ले समेत आमसञ्चार विषयको पाठ्यक्रम तयार गरी उच्च माध्यमिक तहमै राखेको पनि धेरै भईसकेको छ । यसरी क्याम्पस र बिद्यालयहरुमा पढाई हुने पत्रकारिता कत्तिको उपयोगी छ, प्रभावकारी छ ? यो छुट्टै मूल्याँकन र बहसको बिषय बन्ला तर साँच्चिकै पत्रकारिता गर्न चाहनेहरुका लागि पत्रकारिता पढ्न पाउनु ठूलो अवसर हो ।
पत्रकारिता अध्ययन गरी पत्रकारिता अभ्यास गर्न खोज्नेका लागि केही बाधा अड्चनहरु भएता पनि प्रसस्तै सम्भावना र ठाउँहरु छन् । पत्रकारिता र आमसञ्चार विषय अध्ययन पश्चात् प्रशस्त अवसर छन् । मिडिया उद्यमी, आमसञ्चार माध्यम, जनसम्पर्क, सञ्चार, विज्ञापन र सूचना सम्बन्धी कार्यका लागि दक्ष जनशक्ति आवश्यक हुने सरकारी, गैरसरकारी तथा अन्य निकायहरुमा पत्रकारिता पढेका र अभ्यास गरेकाहरुलेनैं अवसर पाउने हो काम गर्नका लागि । यसका लागि बिश्वबिद्यालयहरुले समेत समन्वय, सहकार्यलाई व्यापक रुपमा अघि बढाउन जरुरी छ । पठन, पाठन वा तालिमका दौरान गरिने ईन्टर्नसिप पनि सिक्नका लागि एउटा उपयुक्त समय हो, यसबाट सिकाई सँग, सँगै काम र रोजगारीको अवसर तत्काल पाउने सम्भावना हुन्छ ।
समाचारका स्रोतसँग कसरी व्यावसायिक सम्बन्ध बनाउने, शक्ति केन्द्रबाट पत्रकारितालाई कसरी मुक्त गर्ने, निष्पक्ष र उत्तरदायी पत्रकारिता कसरी गर्ने भन्ने बारे सैद्धान्तिक ज्ञानसँगै व्यवाहरिक ज्ञान भएको खण्डमा जताततै अवसरै अवसर छ । त्यसका लागि संवाद र छलफल गर्न जरुरी छ, अवसरको सदुपयोग गर्न जान्न आवश्यक छ ।
पत्रकारिता र आमसञ्चारमा संलग्न पत्रकारहरुले बिभिन्न खाले अनुसन्धान, नेतृत्व क्षमताका अवसरहरु प्राप्त गर्नुका साथै समग्र राष्ट्रिय विकासमा समेत योगदान दिन सकिने अवस्था रहन्छ । मिडियाकर्मीले लोकतान्त्रिकरण, सुशासन, सहभागिता, विकेन्द्रीकरण र विकासमा विशिष्ठ योगदान पु¥याउने कार्य गरिरहेका हुन्छन्, यो कर्तव्य पनि हो अवसर पनि हो ।
समविकास, प्रविधि, नेतृत्व, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, दिगो विकास र समसमायिक विश्वमामिला जस्ता विषयलाई उठाउन सक्ने एउटै माध्यम हो —आमसञ्चार । अहिले हरेक सरकारी निकाय, अन्तराष्ट्रिय गैसस, गैसस, निजी क्षेत्र र स्थानीय तहहरुमा आईटि अफिसर, मिडिया अफिसर, सूचना अधिकृत, जनसम्पर्क अधिकृत, सञ्चार बिज्ञ, प्रेस सल्लाहकार जस्ता पदहरु सृजना गर्न थालिएकोछ । यो सकारात्मक पक्ष हो, यसले एकातर्फ पत्रकारिता जानेका, पढेका, बुझेका, गरेकाहरुका लागि काम गरेर देखाउने, रोजगार प्राप्त गर्ने अवसर प्रदान गरिरहेकोछ भने अर्काे तर्फ यस्ता पदपूर्तिबाट आम नागरिकहरुलाई सूचना प्रबाहमा सहजता प्रदान गरिदिन्छ ।
पत्रकार, कलाकार, साहित्यकार कुनै पार्टीका हुंदैनन्, यि सबै कारहरु स्वतन्त्र हुन्छन्, सबैका साझा हुन्छन् मैले बुझेको कुरा यहि हो । यो कुराको अवलम्बन नगरिए सम्म पत्रकारिता फस्टाउन सक्दैन ।
यति धेरै अवसरहरु हुँदा, हुँदै पनि स्थानीय सञ्चार माध्यम त्यसमा पनि छापा माध्यमका लागि आवश्यकता आह्वान गर्दा आवेदननैं नपर्ने अवस्था हुनु बिडम्वना हो । जसका कारण १/२ जना जनशक्तिको संलग्नतामा स्थानीय पत्रिकाहरु प्रकाशन हुने गरेका छन् । अझ साप्ताहिक पत्रिकाको अवस्था त झन बिजोगपूर्ण छ ।
पछिल्लो समय दैनिक पत्रिका, अनलाईन, रेडियो र टेलिभजिनले साप्ताहिक पत्रिकाहरुलाई ओझेलमै पारिदिएको छ । साप्ताहिक तर्फ नवआगन्तुक पत्रकारको मात्रै होईन आम पाठकहरुकै आकर्षण कम छ । यसमा साप्ताहिक पत्रिकामा प्रकाशन हुने सामाग्रि, बिषयबस्तुपनि एउटा कारण होला । साप्ताहिक पत्रिका सम्पादकका भरमा प्रकाशन भईरहेको अवस्था छ । रेडियोहरु प्रायः मनोरञ्जन तर्फ बढि केन्द्रित छन् । रेडियो प्रस्तोताहरु पनि त्यहि मनोरञ्जन, साँगितिक कार्यक्रम तर्फ बढि आकर्षित छन् । सन्देशमूलक कार्यक्रम र समाचार तर्फको आकर्षण कम छ । उसो त स्थानीय सञ्चार माध्यमहरुले पारिश्रमिक न्यून दिनुका साथै नियमित नदिने गरेको गुनासो बेलाबखतमा सार्वजनिक हुने गरेका छन् ।
हाम्रो देशमा प्रेस स्वतन्त्रता छ तर यसको सहि प्रयोग भइरहेको देखिदैन । जस्तोसुकै व्यक्ति पनि सञ्चार माध्यममा आवद्ध भएर पत्रकार बन्न पाइरहेका छन् । सम्बन्धित विषयमा विज्ञता हासिल गरेर काम सुरु गर्ने पत्रकार बिरलै छन् । पढेन नसकेर पत्रकारितामा लागेकाहरु धेरै छन् । पत्रकारितालाई मर्यादित बनाउन सम्वन्धित पक्ष सचेत भएको पाईँदैन ।
नेपालको संविधान २०७२ ले समानताको हक प्रदान गरेको छ तर पत्रकारितामा यसको अभ्यास कमजोर छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकामा काम गर्ने पत्रकारहरुको अवस्थामा समानता छैन अझ पुरुष पत्रकार र महिला पत्रकारहरुको भिन्नताको खाडल अझ गहिरो छ । यहि असमानताले महिला पत्रकारहरुको सँख्या अभिबृद्धि हुन सकिरहेकोछैन । यस तर्फ पनि ध्यान दिन जरुरी छ ।
[email protected]