नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्ने हुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा देश विकासका लागि के–कस्ता सम्भावना छन् र के–के गर्न सकिन्छ भनी वस्तुगत भ्रमण गरेका छौँ । नेपालजस्तो भौगोलिक अवस्था र भूपरिवेष्ठित अल्पविकसित देशको विकासका लागि अरु देशको विकास मोडेल ल्याउन आवश्यक छैन, न त त्यो मोडेललाई यहाँ लागू गर्न सकिन्छ ।
नेपालको विकासका लागि देखिएका विभिन्न तरिकामध्ये निम्न आधारहरू प्रमुख देखिन्छन् । एकदेखि चार शब्दमा विकास गर्न सकिने मन्त्र हामीले यसरी देखाएका छौँ ।
एक शब्दमा – दक्ष जनशक्ति
दुई शब्दमा – दक्ष जनशक्ति र राजनीतिक स्थिरता
तीन शब्दमा –दक्ष जनशक्ति, राजनीतिक स्थिरता रप्राकृतिक स्रोत
चार शब्दमा – दक्ष जनशक्ति, राजनीतिक स्थिरता, प्राकृतिक स्रोत र सडक
देश विकासका लागि एक शब्दको मन्त्रबाट सुरुवात गर्ने
दक्ष जनशक्ति :– नेपालको जनशक्ति समय अनुसार परिवर्तन गर्न सकिएको छैन । आजभन्दा ४०/५० वर्ष पहिले नेपालको जनशक्ति विश्व बजारमा अलिअलि बेचिन सक्थ्यो तर आजको नयाँ–नयाँ प्रविधि विज्ञान भएको बेला नेपालको जनशक्ति विश्व बजारमा पूर्ण रूपमा अदक्ष भनी बुझिन थालेको छ । आज नेपाली जनशक्ति विश्व बजारमा सुरक्षा गार्ड र मजदुरबाहेक अन्य भनी चिनिने अवस्था छैन । नेपालमा जनशक्ति विकासका लागि सरकारी स्तरबाट वार्षिक १०/१५ हजार इन्जिनियर उत्पादन गर्न बिसौँ विधामा निःशुल्क अध्ययन गराउने, व्यवस्थापनका विभिन्न विधामा पनि निःशुल्क हजारौँ जनशक्ति प्रतिवर्ष उत्पादन गर्नुपर्ने जस्ता कार्यक्रम सुरुवात गर्नुपर्ने हुन्छ । आज भारतको जनशक्ति विश्व बजारमा राम्रो व्यवस्थापक तथा राम्रो आइटी विज्ञको रूपमा परिचित छ भने नेपालको जनशक्ति तेल भर्ने, सुरक्षा गार्ड गर्नेमा सिमित रहेको छ । त्यसकारण जबसम्म देशको जनशक्ति अर्धकुसल वा पूर्ण कुशल हुँदैन, तबसम्म देश विकास असम्भव नै हुन्छ । त्यही भएर जनसंख्यामा ४७औँ स्थानमा रहेको नेपालको विकासको अर्को प्रमुख सूत्र दक्ष जनशक्ति उत्पादन हो । हामीले जनसंख्यालाई कमजोरी होइन, हतियार बनाउनु पर्दछ । चीनले ५० वर्ष पहिले जनसंख्यालाई कमजोरी बनाई एक परिवार एक बच्चा नीति ल्याएको थियो । तर आज उसको जनशक्ति विश्व बजारमा बेचिएको बेला तीन जना बच्चाहरूसम्म जन्माउन सक्ने नीति ल्याइसकेको छ । त्यसकारण हामीले पनि जनशक्ति विश्व बजारमा बेच्न सक्ने उत्पादन गर्नुपर्ने हुन्छ ।
राजनीतिक स्थिरता :– छिमेकी देश भारतमा विगत २० वर्षमा २ प्रधानमन्त्री १०/१० वर्षका लागि सरकारको प्रमुख भए भने चारपटक मात्र सरकार गठन भएको छ । तर नेपालमा विगत २० वर्षमा १९ पटक प्रधानमन्त्री परिर्वतन भए भने ८० भन्दा बढी पटक मन्त्रीहरू परिर्वतन भएका छन् । नेपालको विकास हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो । सरकारले नीति, योजना, परियोजनाहरू वर्तमानको आवश्यकता र भविष्यको लक्ष्य लिई हिँड्नुपर्ने हुन्छ तर नेपालमा कुनै सरकार १५ दिन टिक्छ भने कुनै ६ महिना, कुनै मन्त्री ३ दिनका लागि मन्त्री हुन्छन् भने कुनै ३ महिनाका लागि । राजनीतिक स्थिरताले देश विकास गर्ने गर्दछ तर यहाँ राजनीतिक अस्थिरताको कारणले न त सरकारले दीर्घकालिन विकास गर्ने नीति ल्याउन सक्छ न विकास निर्माण गर्न नै सक्छ । त्यसकारण नेपालको विकासका लागि राजनीतिक अस्थिरता सबैभन्दा ठूलो समस्या भएको छ ।
प्राकृतिक स्रोतहरू :– नेपाललाई प्रकृतिले धेरै धनी बनाएको छ, तर नेपालले उक्त प्रकृतिको स्रोतलाई प्रयोग गर्न सकेको छैन । हतार हतारमा निर्णय नगरी सरकारले गहन अध्ययन गरी प्राकृतिक स्रोतहरू बेच्नु पर्ने देखिन्छ । देशले आफूसँग जे छ त्यहीँबाट विकल्प खोज्नु पर्ने हुन्छ । नेपालबाट पानी, काठ, ढुंगा, गिट्टी, बालुवा, तामा, म्याग्नेसियम, चुनढुंगा, सुन, अभ्रखजस्ता प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेको खण्डमा नेपालको अर्थतन्त्र विकासमा अन्य विकल्पको आवश्यकता नै नपर्ने देखिन्छ । जनशक्ति, राजनीतिक स्थिरताजस्तै नेपालमा प्राकृतिक स्रोतको प्रयोग गरी देशलाई गज्जबले विकास गर्न सकिन्छ । तर नेपालमा प्राकृतिक स्रोतहरूको खासै प्रयोग भएको पाइँदैन । उदारणका लागि सेतो सुन भनेर चिनिने जलविद्यत्को अपार संभावना भएको मुलुक हो नेपाल । यहाँको विद्युत्् उत्पादन क्षमता ८३ हजार मेघावाट रहेको तथा आर्थिक तथा प्राविधिक दृष्टिकोणले ४२ हजार मेघावाट सजिलै उत्पादन गर्न सकिने भनी पढ्दै, सुन्दै, लेख्दै आएका छौँ । तर पनि हालसम्म उत्पादनको लागत हेर्दा प्रतिमेघावाट १५ करोडदेखि २७ करोडसम्म लागत भएको देखिन्छ । जल विद्युत््मा लगानी गर्नु मात्रै नभएर आधुनिक प्रविधि अनुसार प्रतिमेघावाट ५/७ करोडमा पनि जलविद्युत उत्पादन गर्न सकिने थुप्रै स्थानहरू रहेका छन् र संभावना पनि छ । नेपालको विकासका लागि र सजिलै विश्व बजारमा उत्पादन बेच्न सकिने जलविद्युत नै हो । जलविद्यत्को विकासले हाम्रो जीवन स्तरमा ठूलो फरक ल्याउन सक्ने अवस्था छ
। जलविद्युतका ५०० देखि १००० मेघावाटका परियोजना तथा त्यसवाट चल्ने सहायक अन्य परियोजनाहरू ल्याउन सकेमा नेपाल विकासमा फड्को मार्न सक्छ । जति ठूलो जलविद्युत्् परियोजनाहरू हुन्छन् त्यति नै जलविद्युतमा प्रति मेघावाट लगानी कम हुदै जान्छ । सरकारी स्तरबाट यस्ता १० वटा आयोजना गर्न सकेमा देशले हालको बजेटको ५ प्रतिशत रकम बराबर आम्दानी गर्न सक्छ । यस्ता परियोजनाहरू (एएए) अवधारणाअनुसार १० वटा खोल्नु नेपालका लागि खासै ठूलो देखिँदैन । ५००–१००० मेघावाटका ५ जलविद्युत परियोजनाहरू संचालन गर्न सकेमा वार्षिक ५०० अर्बको आम्दानी मात्रै गर्न सकिन्छ जुन हाम्रो सम्पूर्ण अर्थ व्यावस्थाको १० प्रतिशतभन्दा बढी हुन्छ । त्यसकारण नेपालको विकासका लागि सबैभन्दा उत्तम प्राकृतिक स्रोतको प्रयोगको उत्पादन जलविद्युत नै हो ।
त्यसैगरी नेपालमा प्रशस्त भएर पनि प्रयोग हुन नसकेको प्राकृतिक स्रोत वनजंगल पनि हो । नेपालमा वार्षिक १७ करोड क्युफिट काठको आवश्यकता पर्दछ तर नेपालको जंगलबाट २ करोड क्युबिक फिट पनि काठ निकालिँदैन जबकि नेपालले राम्ररी वन व्यवस्थापन गरेमा विदेशमा मात्रै बार्षिक २०० अर्बको काठ बेच्न सक्ने अनुमान गर्दा हालको वनलाई खासै असर नपर्ने देखिन्छ । जबकि हाल नेपालमा वार्षिक रूपमा प्रयोग हुने काठको विकल्पमा मलेसियन काठ, न्युजिल्यान्डको काठ, आल्मोनियम, फलामआदि गरी १५ करोड क्युबिक फिट आयत गर्दा नेपालको अर्बौँ रकम बाहिर गएको छ । यस्तै बाँझो रहेको जग्गाहरूमा सरकारी स्तरबाट फलफूल, कृषि खेतीहरू गरी अर्वो रकम जोगाउन सकिन्छ ।
सडक :– नेपालमा ‘विकास गाडी चढेर आउँछ’ भन्ने उखान रहेको छ । जुन ठाउँमा गाडी पुग्यो त्यहाँ विकास हुन्छ त्यो एकदमै सही कुरा हो । नेपालमा हालसम्म सबै स्तरका सम्पूर्ण सडकहरूको लम्बाइ १६,५०० कि.मी. रहेको छ । जसमा चार लेनको १२५ कि.मी. जति मात्र रहेको छ भने २ लेनको २१०० कि.मी., सिंगल लेन कालोपत्रे ६००० कि.मी., ग्राभेल स्तरको १५०० कि.मी., ट्र्याक खुलेको ५००० कि.मी. र निर्माणधीन सडक ३००० कि.मी छ । उक्त सडकमा करिब २००० पुल र ७०० निर्माणधीन पुल रहेका छन् । जुन नेपालजस्तो देशका लागि अति न्यून हो । नेपालमा अब सडकको स्तरोन्नति गर्न पर्ने आवश्यकता देखिन्छ । ठूलो कम्पनी, कारखानाहरू नेपालमा स्थापना गर्नका लागि ६ लेनको सडकहरू भारतसँग कम्तीमा एक प्रदेशमा दुई स्थानबाट जोड्नु पर्ने देखिन्छ भने चीनसँग देशभरी ४ स्थानबाट जोड्न सके पुग्छ । यसरी सडक तथा यातायात भारत र चीनसँग जोड्न सकेमा नेपालमा विदेशी लगानी जति पनि भित्र्याउन सकिन्छ । श्रम सस्तो भएको नेपालमा ठूला सडक संजालले भारत र चीनका ठूला सहरसँग जोड्न सकेमा विदेशी कम्पनीहरू स्थापना गर्न खुसी साथ भित्रने छन् । यसरी विदेशी कम्पनीलाई भित्र्याउनका लागि केही वर्षका लागि कर छुट तथा जग्गा निःशुल्क दिन सकेमा नेपालको विकासलाई हालका समकालीन देशहरूले भेट्न सक्ने अवस्था नै रहँदैन । हालको अवस्थामा मात्रै सडक सञ्जाल स्तरोन्नति गरेमा त्यसले वार्षिक १० खर्बभन्दा बढी रकम बराबरको अर्थ व्यवस्थालाई सहयोग गर्न सक्छ जुन हालको अर्थ व्यवस्थाको २२ प्रतिशतभन्दा बढी हुन्छ ।
देश विकासका लागि आर्थिक अभावका कारणले अन्तर्राष्ट्रिय स्तरबाट ऋण लिएर भए पनि नेपालमा एक शब्दबाट सुरुवात गर्नुपर्ने हुन्छ । चाहे त्यो जनशक्ति होस् वा प्राकृतिक स्रोतको प्रयोग वा सडक । नेपालको विकास देखिए जति कठिन पनि छैन जति हामीले सोच्ने गरेका छौँ । नेपालले विकासका लागि सहि गति लिन नसकेको अवस्था मात्र हो । माथि उल्लेखित सूत्रहरू मध्ये एकको पनि सही प्रयोग नहुँदा देश विकासका आधारभूत चरणहरूमा नै रुमल्लिरहेको छ । यदि राजनीतिक स्थिरता भई माथि रहेको कुनै पनि एक आधारमा देश दौडिन सक्यो भने नेपाल देश विकसित हुन २/३ दशक पनि नलाग्ने देखिन्छ । त्यसकारण नेपाललाई विकास गर्न माथि उल्लेखित कुनै एक सूत्रमा जोड दिई अगाडि बढ्नु पर्ने देखिन्छ ।
(लेखक डा.चन्द अर्थविद् हुन् भने इन्जिनियर दुवाल पिएडीरत हुन् ।)