काठमाडौं– पछिल्लो २४ घन्टामा मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञालाई कडाइ गरिने भएको छ । पछिल्लो तथ्यांकअनुसार थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टी भएको हो ।
१० हजार ५ सय ६९ जनाको आरटी पिसिआर र ३ हजार २ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । त्यस्तै सोही समयमा २ हजार ५९ जना संक्रमण मुक्त भएका छन् । १८ जना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण दर बढेपछि झापाको दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ ।
नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दमक नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमण फैलँदो क्रममा रहेको हुँदा मिति २०७८ साउन ११ गते बिहान ४ बजेदेखि २०७८ साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’
यस्तै नगरपालिकाले अनुमति नलिई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ भने व्यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सवारीसाधन पूर्णरूपले बन्द हुनेछन् ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घन्टाको अवधिमा मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरूमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरूको शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।