काठमाडौं– हाँस्य विधामा आफ्नो पृथक पहिचान बनाउन सफल हाँस्य कलाकार शेखर खनाल शिखर टेलिभिजनको अध्यक्षमा चुनिएका छन् । उनी प्रसारणमा आउने अन्तिम तयारीमा रहेको शिखर टेलिभिजनको अध्यक्षमा हालै नियुक्त गरिएका हुन् । खनाललाई टेलिभिजनको बोर्ड बैठकले अध्यक्षमा चयन गरेको हो ।
खनाल लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रसारण हुँदै आइरहेको पूर्वाधार विकाससँग सम्बन्धी एकमात्र टेलिभिजन कार्यक्रम ‘विकास र बहस’का प्रस्तोता हुन् । उनी उक्त कार्यक्रमका निर्माता एवं निर्देशकसमेत रहदै आएका छन् । उनले विगतदेखि नै रंगमञ्च र चलचित्र निर्देशक एवं हाँस्यव्यंग्यको क्षेत्रमा आफ्नो भूमिका निभाउँदै आइरहेका छन् ।
अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै उनले नयाँ सोच र योजनाका साथ टेलिभिजन पत्रकारितामा सामेल हुन लागेको बताएका छन् ।
‘नयाँ ढंग र सोचका साथ टेलिभिजनमार्फत पत्रकारितामा छिर्न लागेको हुँ यसमा सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने । उनी एक समय निकै चर्चामा आएको हाँस्य टेलिशृंखला ‘झ्याँईकुटी’मा ‘भूँइकटर’को उपनामबाट निकै चर्चामा रहेका थिए ।