काठमाडौं– हिन्दू नारीहरूको महान पर्व तिज नजिकिँदै जाँदा गायक, गायिकाहरू तीज गीत सार्वजनिक गर्न आतुर देखिएका छन् ।
कोरोना भाइरसको महामारीको कारण गतवर्ष तीजको अवसरमा थोरै मात्र गीत सर्वाजनिक गरिए पनि यसवर्ष भने तुलनात्मक रूपमा बढी गीत सार्वजनिक भइरहेका छन् ।
कोरोना संक्रमणका कारण विगतका वर्षहरूमा जस्तै तीजको अवसरमा विभिन्न औपचारिक कार्यक्रम हुने वा धेरै जना भेला भएर तीज मनाउने यसवर्ष पनि संभावना देखिँदैन । यद्यपि कलाकारहरू आफ्नो मनको पीडा गीतमार्फत पोख्ने र मायाप्रेमको कुराहरू पनि तिज गीतमार्फत पोखिरहेका छन् ।
तीजकै अवसर पारेर गायक बिर्ख विश्वकर्मा, गायिका सरस्वती उप्रेतीको स्वरमा समेटिएको ‘सुनको चुरा’ बोलको तीज गीत शनिबार सार्वजनिक भएको छ ।
विशेषतः माइतबाट छुटिएर कर्मघरमा संघर्षरत चेलीको कथा रहेको गीत स्रोता दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।
गीतको भिडियो पनि शनिबार नै सार्वजनिक गरिएको छ । डम्बर विश्वकर्माको शब्द, सम्झना बिसीको लय रहेको गीतको भिडियो अशोक सुनारले निर्देशन गरेका हुन् ।
भिडियोमा सुनिता गजमेरको कोरियोग्राफी रहेको छ । भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन आदिको अभिनय रहेको छ ।
आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुति रहेको तीज गीत ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।