रामकुमार चौधरी
नेपालगञ्ज/थारु समुदायको बाहुल्यता रहेको बाँके, बर्दिया, कैलाली लगाएतका क्षेत्रहरूमा रोपार्इंंको क्रम जारी छ । कृषिमा निर्भर रहने थारु समुदायको खेतीपाती गर्ने शैली फरक छ । केही समय अगाडि थारु समुदायमा खेतीपाती गर्ने चलन र अहिलेको चलनमा भिन्नता देख्न सकिन्छ ।
थारु चलन अनुसार खेतीपाती गर्न जानु भन्दा पहिले खेतमा भोज खाने चलन छ जसलाई थारु भाषामा कलवा दिने भनिन्छ । बडघर (मुखिया) को उपस्थितीमा गाउँलेहरुको सल्लाह अनुसार कलवा दिने दिनको तय गरिन्छ । खेत पुजा गरि भोज खाने चलन छ । कलवा खवाइमा माछा, मासु, मादक पदार्थ, गेडागुडीको ब्यवस्था गरिन्छ । स्थानीयहरुलाई कलवा दिएमा खेती सफल हुने र पशु, मानिसको रोग, ब्यथाबाट बच्ने कामना गरिन्छ ।
त्यस्तै थारु समुदायमा खेती लगाई सकेपछि भोज खाने र रमाइलो गर्ने चलन चलिआएको छ, जसलाई हर्दुइ खाने भनिन्छ । गाउँमा सबै किसानहरुले खेत लगाई सकिएपछि एकै साथ हर्दुइ खाने चलन छ । हर्दुइमा बिशेषगरि बंगुरको मासु र जाँड खाने गरिन्छ । हर्दुइलाई खुशी साटासाट र थकाइ मार्ने अवसरको रुपमा लिने गरिन्छ ।
अहिलेको समयमा कलवा दिने र हर्दुइको चलनमा ब्यापकताको अभाव देखिन्छ । पुरुषहरुले खेत जोत्ने बेला गीत गाउने गर्छन्, जसलाई सजना भनिन्छ । सजनामा पशुपंक्षी, राजा माहराजाको दुःख, ब्यथाको कथा समेटि गीत बनाइएको हुन्छ । अब यस्तो गीत गाउने चलनलाई बृद्धहरुले मात्रै निरन्तरता दिएको पाईन्छ ।
समय र कृषिमा भएको आधुनिकिकरणको कारणले थारु साँस्कृतिक लोपहुने सम्भावना रहेको दुःखेसो थारु अगुवाहरुको छ । कुनै बेला थारु समुदायमा रोपाईंको बेला प्रयोग गरिने कृषि औजार गाउँ घरमा पाइने कच्चापदार्थबाट बनाउने गर्थे । अहिले ती समाग्रीको अभाव देखिन्छ ।
जसमध्ये एक छत्री हो । परम्परागत रुपमा घरमा हातले बनाएको छाता जसलाइ थारु भाषामा छत्री भनिन्छ । यसको प्रयोग खेत जोत्ने बेला र धानको बेर्ना उखेल्ने बेलामा घाम र पानीबाट बच्नको लागि प्रयोग गरिन्छ । छत्री महुराइन (भोर्ला वा मालु) को पात र बाँसबाट बनेको हुन्छ । हाल थारु समुदायमा छत्रीको प्रयोग पनि कमै मात्रामा देख्न पाइन्छ ।
कुनैबेला पुरै समुदाय कृषिमा मात्र निर्भर रहेकोमा अहिले अन्य पेशामा संलग्नता बढेकाले कृषि पेशा छाडने क्रम बढिरहेको छ । नयाँ पुस्तालाई अन्य पेशा ब्यापार, नौकरी र वैदेशिक रोजगारले लोभ्याएको छ । मधुवन नगरपालिका बर्दियाका अधिकांश युवा वैदेशिक रोजगारको लागी जाने भएकोले खेतीयोग्य जमीन बाँझो हुनथालेको स्तानीय बताउँछन् ।
समयको आधुनिकिकरणले खेतीको काम गर्न महिनौं लाग्ने अवस्था अहिले छैन । आधुनिक कृषि प्रणालीसंगै थारु कृषि परम्परा बचाउन चुनौतीपूर्ण रहेको अगुवाहरु बताउँछन् । आधुनिक कृषि प्रणाली संगै परम्परागत कला संस्कृति जगेर्ना गर्न जरुरी रहेको छ ।
आधुनिकिकरण र युवाहरुको चासो सँस्कृती तथा कलाकृति जोगाउन तर्फ नगएको करणले पुराना परम्परागत सरसामान हराउदै गएको मधुवन ४ बसन्ता, बर्दियाका बडघर मानबहादुर थारु बताउँछन ।