काठमाडौं– बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम लक्ष्यभन्दा ढिलो गरी मात्र सम्पन्न हुने भएको छ । मन्दिरको पुनर्निमाणको कामअन्तर्गत हालसम्म २० फिट गारो लगाउने काम मात्र सकिएको छ । ७० फिटभन्दा अग्लो गारो लगाउनुपर्नेमा हालसम्म २० फिट गारो लगाउने काम मात्र सकिएको हो ।
मन्दिर पुनर्निर्माण समितिका अनुसार मन्दिरमा प्रयोग गरिने काठ तथा इँटा समयमै पाउन नसक्दा र कोरोना महामारीका कारण लामो समयसम्म लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण पुनर्निर्माणमा ढिलाइ भएको हो । मन्दिर पूरै पुनर्निर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्छ ।
सो मन्दिरमाथि छ फिटको गजुरसमेत हाल्दा भगवान् राखिने स्थानबाट ७० फिट चार इन्चसम्मको काम गर्नुपर्ने मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले जानकारी दिएका छन् । उनले भने, ‘मन्दिर पुनर्निर्माणमा २६ फिट अग्लो काठ ठड्याउने कामसमेत सम्पन्न हुँदा गरिनुपर्ने खतरा खालका कामको हिसाबमा भने लगभग ७० देखि ८० प्रतिशत सक्यौँ, जसमा १६ बाइ १६ का २० ढुंगाको खम्बा र १४ बाइ १४ को ३४ फिट चार इन्चका चार निदाल पनि हालियो ।’ सो २० फिटमाथि लगाउने गारोमा ११ थरिका इँटा आएपछि मन्दिर पुनःनिर्माणको काम निरन्तर अघि बढाउन पाइने उनको भनाइ छ ।
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पका कारण क्षति भएको सो मन्दिरको बाँकी भाग मानिस यात्रा गर्ने क्रममा ढलेर लाग्ने डरका कारण पछि निर्माण गर्नुपर्छ भन्ने सामान्य सोचविचार बिनाभत्काउँदा समस्या भएको बताइन्छ । हाल पुनर्निर्माणमा प्रयोग हुने १३ प्रकारका इँटा अभावले ११ थरिका नयाँ निर्माण गर्न दिइरहेका दुई प्रकारका अझै बनाउन दिनुपर्ने भएको शाक्यले जानकारी दिए ।
सो मन्दिर पुनर्निर्माणमा लागेका समितिले जनसहभागिताअन्तर्गत हाल्नुपर्ने १० प्रतिशत रकम कहाँबाट कसरी जुटाउने भन्ने चिन्ता भइरहेको शाक्यले गुनासो गरे । भूकम्पको कारण क्षति भएको उक्त मन्दिर श्रीलंका सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनर्निर्माण गर्ने भनिएको थियो । तर, मन्दिर पुनर्निर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष २० असारमा क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच रु तीन करोड २१ लाखमा सम्झौता भई काम अघि
बढेको छ ।
लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको काम गत असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । तर, समयमा सम्पन्न नभएपछि पुनर्निर्माणको अवधि थप गरिएको छ । पुनर्निर्माणमा प्रयोग गरिने सामग्री अभावका साथै मुलुकमा फैलिरहेको कोभिड महामारीले अझै कति समय मन्दिर निर्माणमा खर्च हुने हो भन्ने त्यसको कुनै टुंगो लागेको छैन ।
मन्दिर पुनर्निर्माणमा १३ देखि १४ सय वर्ष पुराना मेथ, कार्नेेशलगायतका वस्तु प्रयोग भइरहेको समितिले जनाएको छ । पाटनको ठूलो उत्सवका रूपमा हिन्दूलगायत बौद्ध धर्मावलम्बी दुवैले मनाउने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो पर्व मानिन्छ ।
लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न अनि वर्षा तथा सहकाल अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको मुलुक प्रवेशले सहकाल भएको स्थानीय मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।
मुलुकमा रातो मच्छिन्द्रनाथले सबै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वरको रथजात्रा गर्ने परम्परा रहिआएको छ । हाल मन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतीको एक पाटीमा राखिएर दैनिक पूजाआजा अनि रेखदेख गरिरहेको पुजारी हेम बज्राचार्यले बताएका छन् ।
रातो मच्छिन्द्रनाथलाई लोकथान वा मत्स्येन्द्रनाथ, बुंगमलोकेश्वर, बँगद्यः, आर्याबलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिएको मच्छिन्द्रनाथ गुठीका मुल पुजारी कमलराज बज्राचार्यले बताए ।