काठमाडौं– सरकारले चालूवर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दा स्टोरी बैंक स्थापना गर्ने घोषणा गरेको थियो । सरकारले उक्त घोषणामा यथार्थपरक, कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्न भन्दै स्टोरी बैंक स्थापना गर्ने बताएको थियो । चलचित्र विकास बोर्डले अगाडि सारेको स्टोरी बैंकको अवधारणालाई सरकारले आर्थिक वर्ष ०७८÷७९ को बजेटमा सम्बोधन गरेको हो । अब ‘स्टोरी बैंक’ मा दर्ता हुने कथा तथा पटकथामध्ये केहीलाई छनोट गरेर चलचित्र विकास बोर्डमार्फत् सरकारले सह–लगानी गर्नेछ ।
स्टोरी बैंकको कार्यान्वयनको पहिलो प्रसास स्वरूप चलचित्र विकास बोर्डले कथा तथा पटकथाको माग गरेको छ । सोमबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै ६० दिनभित्र कथा तथा पटकथा पेस गर्न आह्वान गरेको छ । मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु, सामाजिक, सांस्कृतिक, सन्देशमूलकमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट कथा, पटकथा छनोट गरी सह–निर्माण गरिने सूचनामा उल्लेख छ ।
त्यस्तै, स्टोरी बैंकमार्फत् कथा, पटकथा लेखनमा लेखकहरूलाई आवश्यक पर्दा विशेषज्ञता समेत उपलब्ध गराउने र त्यस्ता कथा, पटकथा (स्कृप्ट) मा निर्माण भएका चलचित्रहरूको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शन (महोत्सव, अवार्डमा सहभागिता) लाई प्रोत्साहित गरिने भएकाले अबको ६० दिनभित्र कथा तथा पटकथा पेस गर्न बोर्डले जारी गरेको सूचनामा भनिएको छ । स्टोरी बैंकमा सहभागिताका लागि कथा, पटकथा लेखक वा निर्माता नेपाली नागरिक हुनुपर्ने, चलचित्रको कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गरेको हुनु नहुने, लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्ने, कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गर्न लेखकसँग सम्झौता भएको भए कथा, पटकथा (स्कृप्ट) लेखक र निर्माण पक्षबीचको सम्झौतापत्र पेस गर्न‘पर्ने सर्त राखिएको छ ।
बोर्डले स्टोरी बैंकका लागि कथा तथा पटकथा माग गरेसँगै लेखक, निर्माता तथा निर्देशकहरूमा उत्साह थपिएको बताइएको छ । स्टोरी बैंकले राम्रो तथा मौलिक कथामा चलचित्र निर्माण हुने र त्यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।