काठमाडौं– विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपाली चलचित्र क्षेत्र प्रभावित भएको छ । ११ चैत २०७६ मा पहिलो पटक लकडाउन गरिएपछि ठप्प भएको चलचित्र क्षेत्र ठप्पप्रायः छ । चलचित्रका गतिविधिहरू शून्यप्राय नै छ । कोरोनाको पहिलो लहर कम हुन थालेपछि विस्तारै खुल्न थालेको चलचित्र क्षेत्र दोस्रो लहर सुरु भएसँगै ठप्प छ । दोस्रो लहरको कोरोना संक्रमण केही कम भएसँगै अन्य क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । तर, चलचित्र क्षेत्र कहिले खुल्छ भन्ने निश्चित भएको छैन ।
चलचित्रकर्मीहरूले सरकारले कोरोनाविरुद्धका खोप उपलब्ध गराए चलचित्रको छायांकनलगायतका काम अगाडि बढाउन सकिने भन्दै खोप उपलब्ध गराउन माग गर्दै आएको थियो । यस्तैमा सरकारले चलचित्रकर्मीहरूलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्म चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरूका लागि खोप उपलब्ध गराउने जानकारी दिएको हो । चलचित्र विकास बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो ।
सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएपछि यतिबेला चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सूची बनाउन आग्रह गरेको छ । सबैको सूची हेरेपछि खोपको संख्या सरकारलाई उपलब्ध गराउने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।
चलचित्र विकास बोर्डले विगत केही महिनादेखि चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन सरकारसँग माग गरिरहेको थियो । तर, मन्त्री परिवर्तन हुने क्रम चलेपछि विकास बोर्डलाई समस्या भएको थियो । चीनबाट सरकारले ४० लाख डोज खोप खरिद गरेको र खोप आउने क्रम जारी रहेकाले पनि चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउन सरकार राजी भएको बुझिएको छ । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर चलचित्र विकास बोर्डमा खोप लगाउने योजना आफूहरूले बनाएको बोर्ड अध्यक्ष दाहालको भनाइ छ ।