काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी क्लबले फुटबल एकेडेमी संचालन गर्ने भएको छ । फुटबल एकेडेमी संचालनका लागि मनाङले मंगलबार पोखराको नेपाल आदर्श आवासीय विद्यालयसँग सम्झौता गरेको छ ।
आठ पटकको लिग च्याम्पियन मनाङले नेपाल आदर्शसँग ६ वर्षको सम्झौता गरेको छ । पोखरामा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ । मनाङ एकेडेमी संचालन गर्ने विभाग बाहिरका चौंथो क्लब बनेको छ ।
मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङ र विद्यालयका प्रिन्सिपल कमल गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरे ।
सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरि १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाईका लागि छात्रवृत्ति प्रदान गर्ने छ । दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुने छन् । जसमा १४ खेलाडी क्लबको रहने छन् ।
यस अघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एपीएफ, पुलिस क्लब तथा संकटा क्लब, न्युरोट टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी संचालनको लागि सम्झौता गरिसकेको छ । एसियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार मनाङले एकेडेमी संचालनमा ल्याउन लागेको हो ।