काठमाडौं– पुनर्निर्माणका लागि आवश्यक इँटालगायतका निर्माण सामग्रीको जोहो हुन नसक्दा पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्धारको काम अझै अघि बढ्न सकेको छैन । विभिन्न आकारका नयाँ इँटाको प्रयोग गर्नुपर्ने भए पनि त्यस्ता इँटाहरूको बेलैमो जोहो हुननसक्दा जिर्णोद्धारको काम प्रभावित भएको हो । मन्दिरको जिर्णोद्धारमा खटिएको समितिका अनुसार मन्दिरको जिर्णोद्धारका लागि करिब ४९ प्रकारका इँटाको आवश्यकता पर्दछ । जस्तो पायो त्यस्तै इँटा प्रयोग गर्दा मन्दिरको मौलिकता लोप हुनुका साथै त्यसको सांस्कृति महत्व घट्ने भएकाले यसअघि प्रयोग भएकोजस्तै इँटा निर्माण भइरहेको छ ।
जीर्णोद्धारका लागि ४७ देखि ४९ प्रकारका नयाँ इँटा राख्नुपर्ने मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले जानकारी दिएका छन् । उनका अनुसार विभिन्न प्रकारका नयाँ इँटा बनाउन नयाँ साँचो पनि बनाउनुपर्छ । आधा जति साँचो बनाउने काम सम्पन्न भई इँटा पनि बन्ने काम भएको छ । बाँकी आधा नयाँ साँचो बनाएर इँटा बन्ने काम भने कहिले सम्पन्न हुने हो भन्न सकिएको छैन । जीर्णोद्धारका लागि आवश्यक इँटा केही महिनाअघि बनाउन दिएको थियो । समयसँगै इँटाको भाउ र कामदारको पनि ज्याला बढेकाले काम सुस्त गतिमा बढेको उनले गुनासो गरे ।
मन्दिरको भुइँतला निर्माण गर्न ५ बाई ५ को एकलट इँटा मात्रै तयारी भएर आए पनि जीर्णोद्धारको काम अघि बढाउन थालिने काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक डा.रोहितकुमार रञ्जितकारले जानकारी दिए । उनले भने, ‘बजारभाउको कारणले हो या के भएर हो आवश्यक इँटा बनाउन दिँदा पनि अझै तयारी भइसकेको छैन ।’ मन्दिर वरिपरिका चार बुर्जा भत्किएकाले इँटा बनेर नआउँदासम्म कतै पनि नछुने निधो गरेको उनले जानकारी दिए ।
इन्जिनियर प्रणाम होराका अनुसार मन्दिरमा कुल १०८ थरीका इँटा प्रयोग भएको पाइएको छ । नयाँ बनाउनुपर्नेको एक–एक नमुना झिकी गत माघमा बनाउन दिइएको छ । उनले भने, ‘यी इँटा घरायसी प्रयोजनमा प्रयोग गर्नेभन्दा भिन्न र सानो हुने भएकाले बन्न केही समय लाग्ने भयो । मन्दिरको चार कुना भत्काउनुपर्ने र एउटा कुनामा तीन थरीको इँटा रहेकाले बाहिरपट्टि बिम लेभलको २५ प्रतिशत इँटा पुनः प्रयोग गर्न मिल्दैन ।’
मन्दिरमा प्रयोग भएका इँटा कोहीमा सिंह, कोहीमा नाग, कुनैमा फूलको गुच्छा आदि विभिन्न प्रकारका आकृति रहँदा त्यस्तै बनाएर प्रयोग गरिने भएकाले ढिलो भइरहेको उनले जानकारी दिए ।
सो मन्दिर जीर्णोद्धारका लागि वरिपरि फलामको बार लगाउने काम सकिएको छ । संघलगायत सम्बन्धित निकायले पुरातत्व विभागसँग समन्वय गरी मुचुल्का बनाएर पुराना इँटा झिकी नयाँ बनाउन नमुना पठाएको थियो । सो मन्दिर निर्माणका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरिसकेको छ ।
०७२ सालको विनासकारी भूकम्पमा परेको सो मन्दिरलाई बाहिरबाट सरसर्ती हेर्दा हालसम्म बीच भाग मात्र प्रबलीकरण गर्नुपर्ने देखिएको निर्देशक रञ्जितकारको भनाइ छ । ज्वाला नरसिंह मन्दिरलाई केभिपिटीको प्राविधिक सहयोगमा शिखरशैलीमा उपभोक्ता समितिमार्फत निर्माण गर्ने भएकाले गत २९ पुसमा क्षमापूजा गरिएको थियो ।
नरसिंह मन्दिरको महिमा हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा नृसिंह नृत्य मञ्चन गरी प्रदर्शन गर्ने गरिन्छ । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा १६९७ मा पाटनका राजा सिद्धिनसिंह मल्लले देश र जनताको कल्याणार्थ नृसिंहका साथै अन्य २६ नृत्यसमेत चलाएका थिए ।
ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्यमान्यता बोकेको नृसिंह नाट्य महोत्सवमा कथामार्फत अत्याचारी दानव हिरण्यकश्यपुको बध गरी जनतालाई सत्कर्मको पालना गर्नुपर्ने सन्देश छर्ने गरिन्छ । भगवान् विष्णुले मानव कल्याण र धर्म रक्षाका लागि मत्स्य, बराह र नृसिंह अवतार धारण गरेको कुरा विष्णुपुराणमा आधारित छ ।