काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारले कोभिडबिरुद्ध व्यवस्थापनमा चुकिरहेका बेला एउटा नीजि संस्थाले यस सम्ब्न्धी काम गर्नु प्रशंसनीय भएको बताएका छन् । शनिबार बारबरा फाउन्डेसनले कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका ८६ स्वास्थ्यकर्मी तथा संस्थालाई ‘फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान’द्वारा सम्मानित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारले राम्रोसँग व्यवस्थान गर्न नसकिरहेका बेला फाउन्डेसनले धेरै राम्रो काम गरेको छ । यसका लागि फाउन्डेसनलाई धन्यवाद ।’ उनले यस्तो महामारीमा आफ्नो ख्याल नगरी समाजका लागि खटिएका यस्ता महान् व्यक्तित्वलाई फाउन्डेसनले सम्मान गर्नु गर्वको कुरा भएको बताए । उनले महामारीका बेला खटिएका सबैको राष्ट्रले उच्च मूल्यांकन गर्नुपर्ने बताए । फाउन्डेसनका कार्यकारिणी सदस्य सुहृदि घिमिरे र उनकी छोरी अदिती घिमिरेले १ करोड फाउन्डेशनलाई दिएपछि फाउन्डेसनले उनीहरूलाई सम्मान गरेको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले बताए ।
उनले भने, ‘महामारीका बेला अग्रपंक्तिमा रहेका निरन्तर काम गरिहेका तपाईंहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको छ। यू अल मेक प्राउड अस् ।’
फाउन्डेसनले अग्रपंक्तिमा खटेर काम गरेका स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, तथा संस्थालाई सम्मानित गरेको थियो । विभिन्न विधाअनुसार सम्मानित व्यक्तिलाई १ लाखदेखि २ लाख ५० हजार रूपैयाँसम्म प्रदान गरिएको थियो । फाउन्डेसनले सुरक्षा–सतर्कता तथा स्वास्थ्य मापदण्ड अपनाउँदै विभिन्न ६ वटा विधाका स्वाथ्यकर्मी तथा संस्थालाई सम्मान गरेको थियो ।
फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान अनुसूची १ अन्तर्गत संस्थागत विधामा भरतपुर अस्पताल चितवन, पाटन अस्पताल ललितपुर, नेपाल प्रहरी अस्पताल काठमाडौं, नेपाल एपिएफ अस्पताल काठमाडौं, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह काठमाडौं, हामी नेपाली काठमाडौं, नेपाल एम्बुलेन्स सेवा काठमाडौंलगायत ७ वटा संस्थालाई सम्मानित गरिएको थियो । यस्तै अनुसूची २ अनुसार चिकित्सकलाई पनि सम्मान गरिएको थियो । कोभिड–१९ विशिष्ट सम्मान चिकित्सक विधामा डा. मनीष सुवेदी, रूपेशकुमार गामी, डा. ज्ञानेन्द्र मल्ल, डा. निरजकुमार सिंह, डा. गुरु चरण साह, डा. नन्दु पाठक, डा. कालेबकुमार बुढा, डा. निकिता चौधरी, डा. राजन पाण्डे, डा. भन्द्रेशकुमार सिंह, डा. निरञ्जन दत्त शर्मा, डा. अशिष श्रेष्ठ, डा. कुन्दु श्रेष्ठ, डा. रोशन झालगायत २० जना चिकित्सकलाई सम्मान गरिएको थियो ।
अनुसूची ३ अनुसार फाउन्डेसनले सपना तामाङ, सुनिता फुयाँल, ममता श्रेष्ठ, मन्जु देउला, सुस्मिता देव, सुभद्रा चौधरी, पुष्पा कुमारी, शान्तिमाया लिम्बू, बन्दना चौधरी, चिना गाहालगायत नर्सिङ विधाका २७ जनालाई सम्मान गरेको थियो । यस्तै फाउन्डेसनले अनुसूची ४ अनुसार फाउन्डेसनले व्यवस्थापनअन्तर्गत १४ जना सार्वजनिक नीतिअन्तर्गत ५ जना गरी १९ जनालाई सम्मान गरेको थियो । अनुसूची ५ अन्तर्गत मेडिकल सपोर्टमा ९ जनालाई सम्मान गरेको थियो भने अनुसूची ६ अन्तर्गत स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई सम्मान गरको थियो ।