काठमाडौं– युवा निर्देशक अभय डंगोलले ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माणको घोषणा गरेका छन् । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक ‘अंगुलीमाल’लाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथावस्तुमा चलचित्र निर्माण गर्न लागिएको हो । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् ।
शुक्रबार मध्यपुर थिमिमा एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल कथावस्तुका लेखक रामेश्वर भुजूबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
‘चलचित्रलाई आउँदो दसैं र तिहारको बीचमा शुभमुहूर्त गर्नेछौँ,’ कार्यक्रममा निर्माता श्रेष्ठले भने । ऐतिहासिक कथावस्तुलाई युवादेखि वृद्धावस्थाका दर्शकको रुचि बमोजिम निर्माण गर्ने योजनासमेत श्रेष्ठले सुनाए । सोही अनुरूप एनिमेसन, भिएफएक्स तथा प्राविधिकरूपमा अब्बल बनाउनेदेखि कलाकारहरूको अडिसन लिने सम्मको तयारी भइरहेको छ ।
बुद्धको जन्मस्थलका बारेमा गलत प्रचार भइरहेको भन्दै निर्देशक डंगोलले यो चलचित्रले यसबारेको भ्रममा समेत धेरै सकारात्मक सन्देश दिने दाबी गरेका छन् । यस चलचित्रलाई देश÷विदेशमा समेत प्रदर्शनको तयारी गरिएको भन्दै विदेशमा हुने प्रदर्शनले बुद्धको बारेमा भइरहेको भ्रमपूर्ण प्रचारलाई चिर्ने उनको विश्वास छ । निर्देशक डंगोलले एनिमेसन गरेर बनाउनुपर्ने भएकोले फिल्मको प्रि–प्रोडक्सन, प्रोडक्सन तथा पोस्ट प्रोडक्सन गर्न करिब दुई वर्ष लाग्ने बताएका छन् ।
कार्यक्रममा शिक्षासेवी तथा चलचित्रको लागि कथावस्तु तयार गरेका रामेश्वर भुजूले ‘अंगुलीमाल’लाई चलचित्रको पर्दामा उतार्न स्वीकृति दिएको जताएका छन् ।
‘हिन्दीलगायत धेरै भाषामा उनीहरूकै शैलीमा चलचित्र बनेका छन्, तर नेपालमा जन्मिएका बुद्धको कथावस्तुलाई नेपाली शैलीमा बनाउन सकिरहेको थिएन, अब बन्ने अंगुलीमालले त्यो अभावलाई पूर्ति गर्न लागेको छ । यो सुखद संयोग हो,’ भुजूको भनाइ थियो । कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थ, चलचित्र निर्माण कम्पनीका कानुनी सल्लाहकार मुकुन्द कृष्ण श्रेष्ठ, अंगुलीमालका प्रकाशक ईन्द्रकृष्ण श्रेष्ठलगायतका वक्ताहरूले आफ्नो धारणा राखेका थिए ।