काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी टिमको प्रशिक्षणमा फर्किएका छन् । गत आइतबार राजीनामा दिने घोषणा गरेपछि अलमुताइरी टिमको प्रशिक्षणमा सामेल भएका थिएनन् । तर, अलमुताइरी शनिबारबाट टिमको प्रशिक्षणमा फर्किएका हुन् । पछिल्लो समय अलमुताइरी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई संचारकर्मीसँगको विवादमा तानिएका थिए ।
प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकबाट नेम्बाङको कारण आफुले राजीनामा दिने लागेको बताएका थिए । तर, एन्फालाई राजीनामा पत्र भने बुझाएका थिएनन् । अलमुताइरीले उक्त विवादबारे छानबिनको माग गर्दै एन्फामा निवेदन समेत दर्ता गराएका थिए । विवाद मिलाउन एन्फाले शुक्रबार कार्यसमितिको बैठक बोलाएको थियो । उक्त बैठकले घटनाको उच्चस्तरीय छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।