काठमाडौं– कोरोना महामारीका कारण चलचित्र प्रदर्शनका लागि विभिन्न विकल्प अगाडि आएका छन् । कोरोना महामारी अघि चलचित्र प्रदर्शनका लागि हलमा पालो पर्खिने र डायस्पोरामा प्रदर्शनबाहेकका विकल्पबारे निर्माता, निर्देशकले सोच्दैनथे । उनीहरूले चलचित्र प्रदर्शन भएको लामो समयपछि बल्ल युट्युबमा सार्वजनिक गर्ने गर्दथे । तर, कोरोना महामारीपछि हलहरू बन्द रहेका बेला निर्माता निर्देशकहरू डिजिटल प्लेटफर्ममार्फत फिल्म रिलिजका लागि तयार भएका छन् ।
यसैक्रममा फिल्म ‘लव सर्कल’ले पनि डिम होसमार्फत फिल्म रिलिज गर्ने तयारी गरेको छ । थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘लव सर्कल’ को फष्टलुकको रूपमा पोस्टर सार्वजनिक गरिएको छ ।
फष्टलुकमा कलाकार नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन झा, रिस्ता बस्नेतलगायत अटाएका छन् । गत वर्षको लकडाउन पछि छायांकन गरिएको फिल्म ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । कमेडी र सस्पेन्स विषयवस्तुसमेत रहेको फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गर्ने लक्ष्य निर्माण युनिटले राखेको छ । फिल्मका निर्देशक वसन्त निरौला हुन् ।
नाजिर, मुकुन, पवित्रा, रविन्द्रको अलवा सुमन कोइरालाको समेत अभिनय रहेको फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । २९ साउनबाट फिल्म डिस होमबाट रिलिज हुने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिएका छन् ।