काठमाडौं– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलचित्रका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले आइतबार ‘चौँथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण’ कार्यक्रमको आयोजना गरी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई प्रदान गरेको छ ।
गत २३ देखि २७ वैशाखसम्म चलेको फेस्टिभलमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिएका थिए भने नेपालसहित विभिन्न देशका फिल्म अनलाइनबाट प्रदर्शन गरिएको थियो । भर्च‘अलबाटै अवार्ड घोषणा गरिए पनि पुरस्कार वितरण हुन सकेको थिएन ।
‘निफ’मा स्वदेशी फिचर फिल्मतर्फ उत्कृष्ट घोषित भएको ‘आमा खान्डो’ले एक लाख नगद राशीको पुरस्कार जितेको छ भने यही फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
त्यस्तै, फिल्म ‘लाटकोसेरो’बाट उत्कृष्ट नायक–नायिका घोषित भएका नवीन शिल्पकार र सरिता गिरीले कार्यक्रममा अवार्ड थापे । यो फिल्मले उत्कृष्ट छायांकारको अवार्ड पनि जितेको छ ।
फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’ बाट सर्जियो बासोलाई प्रदान गरियो भने प्यानडेमिक डकुमेन्ट्रतर्फ उत्कृष्ट घोषित भएर ‘सिभिल सोल्जर्स’ ले जितेको ५० हजार राशीको अवार्ड फिल्मका निर्देशक गणेश पाण्डेले पाए । अर्को ५० हजार राशीको राष्ट्रिय सर्ट फिल्मको अवार्ड भने राजेशप्रसाद खत्री निर्देशित ‘अ स्केयर क्रो’ लाई प्रदान गरिएको छ ।
रातामकैलाई पनि पुरस्कार
यस वर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ हाँस्य कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । ‘वासुदेव–विद्यादेव लुइँटेल गुठी’ले कलाकार केसीलाई नगद रु.१ लाख ११ हजार १११, प्रतिक चिन्ह र कदरपत्रसहित केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ । हाँस्यव्यंग्य, साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशील प्रतिभाहरूमध्येबाट एक जनाको छनोट गरी यो पुरस्कार प्रदान गरिदै आएको गुठीले जनाएको छ ।