काठमाडौं – सातदोबाटो युथ क्लबले आसन्न ए डिभिजन लिगका लागि ५ खेलाडी अनुबन्ध गरेको छ । नयाँ सिजनको लिगका लागि सातदोबाटोले सरस्वती युथ क्लबका कप्तान सहित ५ खेलाडीलाई आईतबार अनुबन्ध गरेको जनाएको छ ।
सातदोबाटोले कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि शीर्ष डिभिजनको लिग फुटबलका अनुभवी खेलाडीलाई टिममा अनुबन्ध गरेको हो ।
सातदोबाटोले सरस्वती क्लबका कप्तान बसन्त सहित च्यासल युथ क्लबका अभिषेक बराल, श्री कुमारी क्लबका आशिष राई, टुसाल क्लबका मिडफिल्डर सुदिप गुरुङ र एपीएफ क्लबका मिडफिल्डर प्रकाश पुनलाई अनुबन्ध गरेको छ ।
असोज ३ गतेबाट सुरु हुने भनिएको ए डिभिजन लिग दुई महिना पछि सरेको छ । अब कात्तिक २९ गतेबाट नयाँ सिजनको लिग सुरु हुनेछ ।
यसै वर्ष ए डिभिजनमा बढुवा भएको सातदोबाटोले यसअघि हिमालयन शेर्पा क्लबका कप्तान मानबहादुर तामाङ सहित मोफसलका युवा फरवार्ड बिक्रम सिंह ठकुरीलाई अनुबन्ध गरेको थियो । विदेशी खेलाडी पिटर सेगुनदेखि मार्टिन हुँदै राष्ट्रिय फुटबल टिमका युवा खेलाडी स्यान्सु भुषाललाई क्लबले अनुबन्ध गरिसकेको छ ।
क्लबका महासचिव सुनिल विष्टले यस सिजन शीर्ष ६ मा पर्ने लक्ष्य सहित टिम निर्माण गरिरहेको बताएका छन् ।
सोही अनुसार सातदोबाटोले ए डिभिजन उक्लिएको पहिलो वर्षमै राम्रा खेलाडीलाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ ।