काठमाडौं– माओवादीका चार नेताहरू एमालेमा प्रवेश गरिसकेको सर्वोच्च अदालतले ठहर गरेको छ । आफूहरू माओवादीमा हुँदाको सांसद पद पुनर्बहाली गरीपाऊँ भन्दै एमाले नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरे पनि सर्वोच्चले माओवादी केन्द्रबाट एमालेमा गएका चार सांसदको पक्षमा अन्तरिम आदेश दिन अस्विकार गरेपछि उनीहरू एमालेमा प्रवेश गरिसकेको ठहर भएको हो ।
उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सर्वोच्चले माओवादीका चार नेताहरू एमालेमा प्रवेश गरिसकेको ठहर गरेको हो ।
तत्कालीन नेकपाले वैधानिकता गुमाएपछि आफ्नो पूर्वपार्टी माओवादी केन्द्रतर्फ नलागी एमालेतिर लागेपछि माओवादीले दल त्याग गरेको भन्दै उनीहरूमाथि कारबाही गरेको थियो । कारबाही स्वरूप सांसद पद गुमेको चार महिनापछि ‘माओवादीमै रहेको’ जिकिरसहित सांसद पद फिर्ता लिन सर्वोच्च पुगेका उनीहरूको माग अनुसार न्यायाधीश खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश खतिवडाको इजलासले पहिलो प्रारम्भिक सुनुवाईंमै अन्तरिम आदेश जारी गर्न उपयुक्त नहुने ठहर गरेको हो । छुट्टाछुट्टै निवेदन दिएर सर्वोच्च पुगेका चारैजनाले एउटै व्यहोराको तीनवटा विषयलाई आधार बनाउँदै अन्तरिम आदेशको माग गरेका थिए । तीमध्ये दुवैवटा विषयमाथि संक्षिप्त तर पर्याप्त चिरफार गर्दै सर्वोच्चले सांसद पद पुनस्र्थापन गर्न नमानेको हो ।
अध्यक्ष केपी ओलीले प्रमाणित गरेको पार्टीको दस्तावेजमा उनीहरू एमालेका पार्टी सदस्य रहेको खुलेको, उनीहरूले दल त्याग गरेको जानकारी २६ चैतमा प्रतिनिधिसभा बैठकमा दिइएको देखिएको उक्त इजलासले जनाएको छ । ‘यस अवस्थामा माओवादीले आफ्नो विवेक वा तजबिज प्रयोग गरी दल त्यागमा गरेको निर्णयको औचित्य वा अन्तरवस्तुमा प्रवेश गरी अहिले नै अन्तरिम आदेशकै सन्दर्भमा प्रश्नहरूको निरूपण गर्नु मनासिव देखिँदैन,’ इजलासले भनेको छ, ’सुविधा सन्तुलनको दृष्टीले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिन आएन ।’ २३ फागुनमा सर्वोच्चले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्री बनाएका थिए । त्यसपछि माओवादीले पार्टीको विधानविपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत २४ चैतमा कारबाही गरेिएको थियो ।