राजविराज– छिन्नमस्ता गाउँपालिका–१ स्थित छिन्नमस्ता मन्दिरबाट चोरी भएको ५ सय ८ ग्राम चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ बस्ने २३ वर्षीय राजेशकुमार मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मन्दिरमा आइतबार राति चोरी भएको खबर प्राप्त हुनासाथ सप्तरीबाट खटिएको प्रहरीले टोलीले उनलाई उक्त मुकुटसहित पक्राउ गरेको हो ।
मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मुकुट चोरी गरेको आरोपमा पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौउका लक्ष्मण मण्डलका २३ वर्षीय छोरा राजेशकुमार मण्डललाई सार्वजनिक गरेको हो । पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार गाउँमा एक जनाले भगवतीको मुकुट लिएर हिँडिरहेको भनी प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी टोली पारिचाल गरी छिन्नमस्ता भगवतीको मुकुटसहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका मण्डलका साथबाट चाँदीको जस्तो देखिने धातुमा देवीको अनुहार अंकित मुकुट र मुकुटमा अंकित देवीको नाकमा सुनको जस्तो देखिने धातुको नथिया र निधारमा सुनकै जस्तो देखिने टीकासमेत करिब ५०८ ग्राम तौल रहेको जनाइएको छ । मुकुट चोरी गर्ने मण्डललाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक धमलाले बताए ।
सप्तरी सदरमुकाम राजविराजदेखि करिब १३ किलोमिटर दक्षिण भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा अवस्थित छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको थियो ।
मुकुट चोरी भएको घटनालगत्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक धमला र सशस्त्र प्रहरीका प्रमुखलगायत टोली परिचालन गरी मुकुट खोज्नका लागि भारतीय सीमा नाकासमेत सिल गरिएको थियो ।