काठमाडौं– अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा चलचित्र ‘कठपुतली’ छानिएको छ । नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रूपमा छनोट भएको हो ।
आउँदो २३ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको यो फिल्म २६ सेप्टेम्बर तारिखका दिन स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ ।
‘कठपुतली’ का निर्देशक भीमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु नेपालकै लागि गर्वको कुरा रहेको बताए । अहिले उनी फिल्मको स्क्रिनिङका लागि अमेरिकामा छन् । न्युयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा फेस्टिभलको आयोजना हुँदै छ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ ।
फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् । उनी यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । सम्पदा मल्लले लेखेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लन्डनको स्टुडियोमा भएको हो ।