काठमाडौं – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि सोमबार ४ खेलाडी अनुबन्ध गरेको छ ।
नयाँ सिजनको लिगका लागि सातदोबाटोले नयाँ बस्ती क्लबका डिफेन्डर बसन्त ओझा र खुमलटार युवा क्लबका प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको हो ।
यस्तै सातदोबाटोले क्लबका पूर्व गोलकिपर सनम राई र पूर्व डिफेन्डर महेन्द्र कार्कीलाई समेत नयाँ सिजनका लागि अनुबन्ध गरेको छ । खेलाडी अनुबन्धमा आक्रामक रूपमा अघि बढेको सातदोबाटोले आइतबार मात्र पाँच खेलाडी अनुबन्ध गरेको थियो ।
सातदोबाटोले आइतबार बी डिभिजन लिग च्याम्पियन बन्दा कप्तान रहेका बसन्त तामाङसहित अभिषेक बराल, आशिष राई, सुदिप गुरुङ र प्रकाश पुनलाई अनुबन्ध गरेको थियो । यसै वर्ष ए डिभिजनमा बढुवा भएको सातदोबाटोले यसअघि हिमालयन शेर्पा क्लबका कप्तान मानबहादुर तामाङ सहित मोफसलका युवा फरवार्ड बिक्रम सिंह ठकुरीलाई अनुबन्ध गरेको थियो ।
विदेशी खेलाडी पिटर सेगुनदेखि मार्टिन हुँदै राष्ट्रिय फुटबल टिमका युवा खेलाडी स्यान्सु भुषाललाई क्लबले अनुबन्ध गरिसकेको छ ।
प्रकाश फ्रेन्ड्स क्बलका कप्तान
सहिद स्मारक ए डिभिजन क्लब फ्रेन्ड्स क्लब कुपन्डोलले मिडफिल्डर प्रकाश बुढाथोकीलाई अनुबन्धित गरेको छ । फ्रेन्ड्सले सोमबार राष्ट्रिय टोलीका मिडफिल्डर प्रकाशलाई अनुबन्ध गरिएको जनाएको छ । फ्रेन्ड्सले नयाँ सिजनको ए डिभिजन लिगका लागि प्रकाशलाई टिममा अनुबन्ध गरेको हो ।
ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ । यस्तै फ्रेन्ड्सले प्रकाशलाई टिमको कप्तानीको जिम्मेवारी समेत दिएको छ । प्रकाशले अघिल्लो सिजनको लिग न्युरोड टिम एनआरटीबाट खेलेका थिए । त्यसअघि उनले मनाङको जर्सी लगाएका थिए । त्यस्तै उनले थ्री स्टार क्लबबाट समेत खेलिसकेका छन् ।