काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै मंगलबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् ।
खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रूपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।
लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए । सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भने ।
नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरे ।