ललितपुर– गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा लिम्बू भाषाको गीत ‘आन्छी मिम् आफल्याङ मेसिनेन’को गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमी–प्रेमिकाबीचको माया र स्नेहलाई भौतिक शरीरले छोडेर गए पनि ‘हाम्रो माया कहिल्यै मर्दैन’ भन्ने गीतको मूल भाव छ ।
उक्त म्युजिक भिडियो मंगलबार ललितपुरमा विमोचन गरिएको थियो । विमोचन कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सूर्यप्रकाश चेम्जोङले गीतमा आफ्नो कथालाई देख्न पाइने र संसारभरि रहेका कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न सकिने बताए । ‘भिडियोमा मनोरञ्जन मात्र नभएर हाम्रो समुदायको लोप हुँदै गइरहेको संस्कार, सस्कृतिको संरक्षण गर्न सकोस् भन्ने अपेक्षा प्रस्तुत गरिएको छ,’ उनले भने ।
भिडियोका निर्देशक दिनेश लिङदेनले जीवनलाई महिनौँ अध्ययन गरेर संगीत गरेको र कोभिड कहरको वाबजुद पनि कामहरू गरिरहेको हुँदा व्यक्तिगत र आफूआवद्ध संस्थाको तर्फबाट निर्देशक हाङ चेम्जोङलाई धन्यवाद दिएका थिए ।
किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले गीत र भिडियोमा सम्बन्धितहरूको काममा प्रश्न नरहेको बताएकी छन् । ‘सबैको मिहिनेत छ, लिम्बू संस्कारलाई जीवन्तता दिने काम भएको छ, पहिचानलाई जीवन्त राख्न सफल भएको छ,’ उनले भनिन् । उक्त गीत साइमन लिम्बूले लेखेका हुन् भने, जेपी नेम्वाङको संगीत, टेकेन्द्र यक्सोको एरेन्ज छ । गीतको भिडियोमा विमला खजुम लिम्बू, साइमन लिम्बू, तानाम तान्छो लाओती, झरना लिम्बूले अभिनय गरेका छन् । अनिल रानाले सम्पादन गरेको भिडियोलाई तिलक रिजालले खिचेका हुन् ।