टोकियो – टोकियोमा जारी रहेको ओलम्पिक अन्तर्गतको पुरुष फुटबलको उपाधिका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने आयोजक जापानलाई पराजित गर्दै स्पेनले फाइनल स्थान पक्का गरेको हो । मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै ब्राजिल स्वर्ण नजिक पुगेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा ब्राजिलले बाजी मार्यो । पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली,ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे ।
मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन् । त्यस्तै मंगलबार नै सम्पन्न अर्को सेमिफाइनल खेलमा आयोजित जापानलाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेन स्वर्ण नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो नायक बने । उनले खेलको ११५ औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए । एसेन्सियोले मिकेल ओयार्जाबलको पासमा गोल गरे ।