काठमाडौं– नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाको अध्यक्षमा पुनः बुद्ध लामा निर्वाचित भएका छन् । शनिबार सकिएको संघको चौँथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
संघको नयाँ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सहसचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्णबहादुर स्याङ्तान, लक्ष्मी पुरी, सरस्वती पोखरेल, समृद्धि पन्त र भक्तकुमार राई निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा पनि लामाको नेतृत्वमा नै कार्यसमिति गठन भएको थियो ।
कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेस बिपीका नुवाकोट जिल्ला सभापति तथा केन्द्रीय सदस्य श्यामबहादुर गुरुङले पछिल्लो समय नेपाली कला संस्कृति अतिक्रमणमा परेको बताएका छन् । संस्कृति पुर्खाले संरक्षण गरेर गएको भए पनि अहिले दोधारमा रहेको उनले बताए । कलाकारलाई राज्यले सम्मान गर्नु पर्ने, कला संस्कृतिको जर्गेनामा राज्यले ध्यान दिनु पर्ने उनको भनाइ छ । कला संस्कृतिको संरक्ष र सम्बद्र्धनका लागि आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो । त्यस्तै नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले नृत्य निर्देशकको सीप कोरोनाका कारण १८ महिना प्रयोगमा नआउँदा समस्या भएको बताएका छन् ।
जिल्ला शाखा काठमाडौंका सल्लाकार कमल राईले गाउँघरमा बिना निर्देशन राम्रो नाच्न सक्नेहरू रहेको भन्दै घर–घरमा नृत्य गर्न सक्ने क्षमता भएका व्यक्तिहरू रहेको तर्क गरे । सबैले कला संस्कृतिको सम्मान गर्नु पर्ने र कोरोनाले समस्या भयो भनेर बस्नुभन्दा पनि कोरोनाको डटेर सामना गर्नु पर्ने उनले बताएका छन् । नेपाल र नेपाली सबै प्यारो रहेको भन्दै यही प्यारोपन र सौन्दर्यताका कारण आफू मुम्बई नफर्केको उनले बताए ।
त्यस्तै अर्का सल्लाकार केपी पौड्यालले नृत्य ब्रम्हाण्डको सञ्चार भएको बताएका छन् । नाचले मानिसको शरीरमा ऊर्जा बढाउने काम गर्ने भन्दै ‘जो नाच्छ त्यो धेरै बाँच्छ’ भन्ने उक्ति प्रचलनमा आएको उनले बताए । चलायमान नहुँदा मेसिनमा खिया लागेजस्तै मानिसको शरीरमा पनि खिया लाग्ने भन्दै शरीर चलायमान बनाउनका लागि पनि नृत्य अति नै आवश्यक रहेको उनको भनाइ छ । धेरै नृत्यहरू लोप हुँदै गइरहेको भन्दै त्यसको संरक्षण गर्नु पर्ने उनले बताए । कार्यक्रममा नृत्य निर्देशक संघ भक्तपुर शाखाका अध्यक्ष, चुडामणी फुँयाल, ललितपुर शाखाका सचिव मिर्नरवा शर्मा राजोपाध्याय तथा पत्रकार महासंघ उपत्यका विशेष समितिका सदस्य अर्जुनबहादुर तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।