दार्चुला– व्यास गाउँपालिका–१ टिंकरस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्माण भएको छ । चीनसँग सीमा जोडिने टिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो ।
सरकारले बिओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ । चीनको ताक्लाकोटसँग जोडिएको टिंकरमा स्थापना गरिएको यो पहिलो बिओपी हो । त्यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ । तिब्बत भएर हुने चोरी, सिकार, तस्करी, नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न बिओपी निर्माण गरिएको छ । छायालेकबाट नेपाल चीनको सीमा पिलर नं १ सम्म पुग्न चारदेखि पाँच घन्टा लाग्ने गर्छ ।
यसअघि छाङ्रुको गागामा रहेको सशस्त्र प्रहरीले पिलर नं १ सम्म गस्ती गर्दै आइरहेको थियो । छालालेकमै बिओपी स्थापना हुने भएपछि चीनसँग सीमा क्षेत्रमा गस्ती गर्न सहज हुनेछ । छायालेकमा बिओपीको भवन निर्माण धुलिखेल प्याराडाइज एलवी जेभीले गरेको हो । गत जेठमै निर्माण सक्नुपर्ने भए पनि प्रतिकूल मौसम र विभिन्न कठिनाइका कारण केही ढिला गरी निर्माण सकिएको छ ।
गत पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाइज एलवी जेभीबीच बिओपी निर्माणको सम्झौता भएको थियो । ६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने सम्झौता भए पनि सामान ढुवानी गर्न समस्या भएपछि निर्माण कार्य केही ढिलाइ भएको निर्माण व्यवसायी लालबहादुर बमले बताए ।
सडक मार्गसँग नजोडिएको टिंकरमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न सम्भव थिएन भने भारतबाट सामान लिन पनि सकस भएको थियो । निर्माण व्यवसायले गत असारमा हेलिकोप्टरमार्फत सामान ढुवानी गरेर निर्माण कार्य पूरा भएको स्थानीयबासी योगेश बोहराले बताए ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म छाङ्रुको भवन निर्माण कार्य भने अलपत्रजस्तै भएको सुरक्षाकर्मी बताउँछन् । १५ महिनाभित्रै निर्माण सक्नुपर्ने भवन अझै भूइँतला मात्रै निर्माण गरिएको बताइएको छ ।
विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट आइस क्राफ्ट सम्बन्धि ज्ञान दिलाउने उद्देश्यअनुरुप जोमसोममा तैनाथ नेपाली सेनाको उच्च शिखर शिक्षालयमा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी गराई आइतबार हाइ अल्टिच्युड एन्ड माउन्टेन वारफेर तालिमको सुरु भएको छ ।
उक्त शिक्षालयका शिक्षाधिकृत महा सेनानी सुरेश हमालले प्रथम प्रवचन गरी सुरु भएको सो तालिम १ असोजसम्म संचालन हुने जानकारी गराइएको छ । उक्त तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जा ६५ जना गरि जम्मा ८१ जना सहभागी भएका छन् भने विदेशी शिक्षार्थीतर्फ मित्रराष्ट्र अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जा शिक्षार्थी जम्मा ५ जना सहभागी भएको बताइएको छ ।