काठमाडौं– नेपाली कलाकारहरूको समेत अभिनय रहेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को छायांकन सकिएको छ । ‘अनन्या फिल्मस्’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज्’ले निर्माण गरेको साउथ फिल्म ‘थिरिमाली’ को सुटिङ ‘प्याक अप’ भएको घोषणा गरिएको हो । फिल्म ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेले निर्माण गरेको फिल्म ‘थिरिमाली’को दृश्य नेपाल र भारतको विभिन्न स्थानमा खिचिएको थियो । मनालीको दृश्य कैद गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता न्यौपानेले जानकारी दिए । फिल्मको मध्यान्तरपछिको दृश्य निषेधाज्ञाअघि नेपालमै खिचिएको थियो ।
मनालीको दृश्य पनि नेपालको मुस्ताङमा खिचिने तय भएको थियो । तर, कोरोनाका कारण सरकारले फिल्म छायांकनको अनुमति नदिएकाले नेपालको दृश्य भारतको मनालीमा कैद गरिएको हो । ‘थिरिमाली’ मा दक्षिण भारतीयसँगै नेपाली कलाकारहरू स्वस्तिमा खड्का, माओत्से गुरुङ, उमेश तामाङलगायतको पनि अभिनय रहेको छ । उनीहरूको भागको छायांकन नेपालमै भएको हो ।
आइतबार निर्माण टिमले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ । माओत्से गुरुङ फिचर सुटिङ सेटका केही तस्बिरहरू सार्वजनिक गरिएको हो । तस्बिरमा उनी नेपालको पहाडी क्षेत्रमा दृश्य दिँदै देखिएका छन् । फिल्ममा उनको महत्वपूर्ण भूमिका रहेको निर्माण टिमले जानकारी दिएको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता न्यौपानेले बताए । हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलगु भाषामा फिल्म रिलिज हुने बताइएको छ ।
राजिव सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायत मूख्य भूमिकामा छन् । निर्माण टिमले छायांकन सुरु हुनुभन्दा अगाडि नै फिल्मको मोसन पोस्टर सार्वजनिक गरेको थियो । निर्माता न्यौपानेले नेपाल र भारतमा स्थिति सहज भएर पूर्णरूपमा सिनेमा हलहरू खुलेपछि फिल्म प्रदर्शन गरिने जानकारी दिएका छन् ।