काठमाडौं– नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर भनी प्रचार गरिएको फिल्म ‘एक्स ९’ मा एकपछि अर्को कलाकारहरूको इन्ट्री हुन थालेको छ । नेपाली चलचित्र क्षेत्रका सफल कलाकारहरूको आवद्धताले ‘एक्स–९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । निर्माण टिमले फिल्मका लागि अर्का चर्चित अभिनेता सौगात मल्ललाई पनि साइन गरेको छ । यसअघि शनिबार मात्र निर्माण टिमले अभिनेता अनमोल केसीलाई अनुबन्ध गरेको थियो ।
मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म निर्माण टिमले अभिनेता सौगातसँग आइतबार फिल्म साइन गरेको जानकारी दिएको छ । गत वर्षको लकडाउनअघि नै निर्माण टिमको सौगातसँग मौखिक सहमति भए पनि कागजी सम्झौता आइतबार मात्र भएको हो । सौगातले तेस्रो पटक मुकुन्दसँग काम गर्न लागेका हुन् । उनीहरूबीच ‘लप्पन छप्पन’ को दुई सिरिजमा सहकार्य भइसकेको छ । पहिलो पटक अनमोलसँग एकसाथ स्क्रिन सेयर गर्न लागेका सौगातले फिल्मको कथावस्तु र आफ्नो भूमिका मन परेकाले काम गर्न तयार भएको बताएका छन् । फिल्ममा उनी कस्तो भूमिकामा देखिनेछन्, यसबारेमा भने निर्माण टिमले जानकारी दिएको छैन ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा छायांकन गरिने फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्न पनि पहल गरिने निर्देशक भट्टले बताएका छन् ।
मल्टिस्टारर फिल्म बनाउन रुचाउने मुकुन्दले ‘एक्स–९’ मा पनि चलेका कलाकारहरूलाई एकसाथ पर्दामा उतार्दैछन् । फिल्ममा अनमोल र सौगातसँगै पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, प्रियंका थापाको पनि अभिनय रहनेछ ।