काठमाडौं– कोरोना महामारीका कारण उपत्यकासहित मुलुकभरका दुई दर्जन बढी फिल्महरू बन्द भइसकेको छन् । केही क्युएफएक्ससहितका हलहरू लामो समय बन्द हुँदा खर्च धान्न नसकेको भन्दै बन्द गरिएका हुन् । तर, कोरोना महामारीका कारण हलहरू बन्द भइरहँदा केही सहरमा भने हल खुल्ने क्रम पनि जारी छ ।
काठमाडौंमा दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का–पञ्जा’समूहले पनि मल्टीप्लेक्स हल निर्माण गरिरहेको छ । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरूले करिब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । केही महिनादेखि सिनेमा हल निर्माणको काम भइरहेको दीपकराजले बताए ।
आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजनाअनुरूप तीव्र गतिमा काम भइरहेको उनले बताए । दुईवटा स्क्रिन रहने हलमा चार सय दर्शकले एकसाथ फिल्म हेर्न सक्नेछन् । यो सिनेमा हलमा दीपक–दीपाश्रीसँगै ‘छक्का पञ्जा’ समूहमा आबद्ध रहेका व्यक्तिहरूको लगानी रहनेछ । यो समूह धेरै अगाडिदेखि ‘छक्का पञ्जा’ नाममा स्तरीय मल्टीप्लेक्स हल खोल्ने तयारीमा थियो ।
फिल्मबाट कमाएको पैसा फिल्म क्षेत्रमै लगानी गर्ने उद्देश्यले सिनेमा हल खोल्न लागेको र आफूहरूले सिनेमा हल बनाउँदा फिल्मकर्मीलाई पनि सहज हुने उनको विश्वास छ । त्यस्तै, दीपाश्री निरौलाले धमाधम सिनेमा हलहरू बन्द भइरहेको अवस्थामा नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने बताइन् । आउँदो चैतभित्र हललाई सञ्चालनमा ल्याउने तयारीमा ‘छक्का पञ्जा’ समूह छ । यो समूह पहिला मोफसलमा हल खोल्ने तयारीमा थियो । तर, कोरोना महामारीपछि तत्काल मोफसलमा लगानी गर्न‘ जोखिम हुने ठानेर उनीहरूले राजधानी रोजेको जानकारी दिएका छन् ।