काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसमा १४औँ महाधिवेशन सार्नेबारेमा छलफल तीव्र बनेको छ । आगामी १६ देखि १९ भदौसम्म हुने भनिएको महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको अवस्थामा पार्टीभित्र महाधिवेशन सार्ने विषयमा छलफल सुरु भएको हो । सभापति शेरबहादुर देउवालाई महाधिवेशन सार्ने विषयमा विभिन्न नेताह्रूका साथै आफू पक्षीय केन्द्रीय पदाधिकारी तथा सदस्यह्रूसँग पनि छलफल गरेका छन् ।
कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगोमा नपुग्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो । हालसम्म क्रियाशील सदस्यता विवाद टुंगोमा पुगेको छैन । यस्तो अवस्थामा सभापति देउवासहित महामन्त्री डा.शशांक कोइरालालगायत नेताह्रू महाधिवेशन सार्ने विषयमा सकारात्मक रहेका स्रोतको भनाइ छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अडान राखिरहेका छन् ।
कांग्रेसलाई २३ भदौभित्रै महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । कांग्रेसले २३ फागुन ०७२ मा १३औँ महाधिवेशन सम्पन्न गरेको थियो । आगामी २३ भदौमा केन्द्रीय कार्यसमितिको कार्यकाल ५ वर्ष ६ महिना पूरा हुँदैछ । नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
महाधिवेशन तोकिएको समयमा गर्न नसकिने स्थिति आएपछि सभापति देउवाले निजी निवास बूढानीकण्ठमा बुधबार शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बिहीबार बस्ने केन्द्रीय कार्य समितिको बैठकका एजेण्डामाथि सहमति जुटाउन शीर्ष नेताह्रू छलफलमा जुटेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । बिहीबारको बैठकमा महाधिवेशनको कार्यतालिकाका साथै निर्वाचन निर्देशिका प्रस्तुत गर्ने एजेन्डा छ ।
भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउने विषयमा कांग्रेसमा सहमति जुट्न सकेको छैन । सभापति देउवाले भदौभित्र अधिवेशन उद्घाटन गरेर मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारी गरेका छन् । तर, त्यसका लागि पार्टीभित्र सबै पक्ष सहमत भए मात्र नयाँ कार्यतालिका ल्याइने स्रोतले बताएको छ ।
यसअघि पाँचपटक कार्यतालिका संशोधन गरिसकेको भन्दै वरिष्ठ नेता पौडेल भने अब निर्धारितम मितिमै महाधिवेशन हुनुपर्ने अडानमा कायम रहेका छन् । भदौमा महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन गर्नुपर्ने पौडेलको अडान छ । भदौभित्र महाधिवेशन गर्न नसकिए पार्टी वैधानिक संकटमा पर्ने पौडेलको भनाइ छ । सोमबार बसेको पौडेल पक्षीय केन्द्रीय समितिको अनौपचारिक बैठकले पनि निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।