काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना महामारीका कारण शिथिल बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कोरोना महामारीका कारण प्रभावित बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन आवश्यक नीतिगत सुधार गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्कासँगको भेटमा दाहालले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भिर रहेको बताउँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिएका थिए ।
संघका पूर्वअध्यक्ष तथा नायक, निर्माता खड्काले पूर्वप्रधानमन्त्री दाहाल र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर फिल्म क्षेत्र चलायमान गराउन विषेश पहल गरिदिन आग्रह गरेका थिए । दाहाल निवास खुमलटारमा भएको भेटमा अभिनेता खड्काले लकडाउन र निषेधाज्ञाका कारण धराशयी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्महरूको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।
भेटका अवसरमा खड्काले समग्र फिल्म क्षेत्रको समस्या र चुनौतीको विषयमा समेत व्याख्या गर्दै दाहाललाई चलचित्र क्षेत्रलाई उठाउन राज्यको विशेष अनुसन्धानको आवश्यक रहेको जानकारी गराएका थिए । सिमानामा काँडेतार अभियानका संयोजक समेत रहेका खड्काले राष्ट्रियता संकट पर्ने एमसिसीको विषयमा समेत आफ्नो धारणा राख्दै भ्रष्टाचारका विषयमा पनि ध्यानाकर्षण गराएका जानकारी दिएका छन् ।
कोरोना महामारीले फिल्म क्षेत्र सबैभन्दा बढी प्रभावित छ । गत वर्ष नौ महिना फिल्म क्षेत्र पूर्ण रूपमा ठप्प भयो । लकडाउन अन्त्यपछि केही मात्रामा फिल्म निर्माण र प्रदर्शन भए पनि त्यसले फिल्म क्षेत्रलाई प्राण भर्न सकेन । कोरोनाको दोस्रो महामारी फैलिएसँगै फेरि यो क्षेत्र बन्द छ । भीडभाड हुने प्रायः क्षेत्र खुलिसक्दासमेत फिल्म क्षेत्र खुल्ने अझै टुंगो लागेको छैन । सरकारले फिल्म क्षेत्रलाई चलायमान बनाउन चासो नदेखाएपछि फिल्मकर्मीहरू यस क्षेत्रलाई चलायमान बनाउन सक्रिय भएका छन् ।