काठमाडौं — जापानमा आयोजना हुने पारालम्पिकको तयारी गरिरहेको नेपाली पारा तेक्वान्दोलाई सहयोग गर्ने विभिन्न व्यक्तीलाई सम्मानित गरिएको छ ।
आगामी अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानको टोकियोमा गृष्मकालीन पारालम्पिक २०२० को आयोजना हुँदै छ । जहाँ नेपालको पारा टोलीको रूपमा एक खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्नेछिन् ।
टोकियोमा हुने पारालम्पिकलाई लक्षित गर्दै करिब डेढ महिनादेखि विशेष प्रशिक्षणमा रहेको पारा तेक्वान्दोलाई सहयोग गर्ने संस्था र व्यक्तिहरू सम्मानित भएका हुन् ।
नेपाल तेक्वान्दो संघअन्तर्गत रहेको पारा तेक्वान्दो कमिटीले प्रेरक वक्ता (मोटिभेसन स्पीकर) रमण भट्टराई, फिजियो नेहा शाह, योगा प्रशिक्षक प्रकाश खड्कालाई सम्मान गरेको हो ।
तीनै जनाले पारालिम्पकको तयारीमा रहेकी पलेशा गोवर्धनलाई आ–आफ्ना क्षेत्रबाट बिनासुविधा सहयोग गरेका थिए । जसको कदर गर्दै नेपाल तेक्वान्दोका संघका कोषाध्यक्षसमेत रहेका पारा कमिटीका संयोजक कासिम मियाँ धोबी र कमिटीका सचिव दीपक विष्टले मायाको चिनोसहित सम्मान गरे ।