काठमाडौं– संसारको अग्लो स्थानमा म्युजिक भिडियो ‘गोक्यो रि’ निर्माण गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल कलाकार तथा निर्माण टिमलाई हालै सम्मान गरियो । पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान गरेको कलाकारहरूको टिमका एक सदस्य थिए मिडिया व्यावसायी तथा कलाकर्मी राजन खरेल । उनले ‘गोक्यो रि’मा प्राविधिक संयोजकको रूपमा काम गरेका थिए ।
काभ्रे जिल्लामा जन्मिएका खरेलले राजधानी काठमाडौंलाई कर्मथलोका रूपमा रोजे । ०७० सालबाट कला र व्यापार दुवै क्षेत्रमा सक्रिय उनले ‘स्माइलकला केन्द्र एन्ड फिट्नेस सेन्टर’ सञ्चालन गरिरहेका छन् ।
केही समय कला यात्रामा विश्राम लिएका उनले समयसँगै कलाभन्दा व्यवसायतर्फ अगाडि बढ्न थाले । उनले आफूलाई बुटिक व्यवसायतर्फ मोडे । उनले व्यवसायलाई केही व्यवस्थित बनाएसँगै फेरि कला यात्रालाई पनि सँगै बढाउने निधो गरे । तर, यसपटक उनको तयारी प्राविधिकका रूपमा अगाडि बढ्ने थियो । उनले भिडियो छायांकन र सम्पादन कला सिके ।
मिडिया एन्ड इन्टरटेनमेन्ट प्रालिबाट छायांकन र सम्पादन सिकेका उनले पछिल्लो समय आफूलाई त्यसमै व्यवसायिक बनाएका छन् । उनले नेपालमा हुने राष्ट्रिय तथा अन्तर्रास्ट्रियस्तरका मेला–महोत्सव, अवार्ड तथा विभिन्न कार्यक्रमको प्राविधिक संयोजक भएर काम गरिसकेका छन् ।
त्यसैगरी केही चलचित्र, म्युजिक भिडियो, सर्ट मुभी, डकुमेन्ट्रीलगायतमा छायांकार तथा सम्पादकका रूपमा काम गरिसकेका छन् । उनले विभिन्न अवार्ड तथा सम्मान पनि प्राप्त गरिसकेका छन् ।
उक्त अवसरमा खरेलसहित ‘गोक्यो रि’ टोलीका सदस्यहरू पुस्कर नेपाल, बाँसुरी वादक पावल राई, पर्यटन व्यवसायी सञ्चबहादुर राई र समाजसेवी लक्ष्मन कार्कीलाई पनि ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, गायिका तथा मोडल बबिना किराँती, संगीतकार विक्रम राई, गीतकार मिलन किराँती, संगीत संयोजक फनिन्द्र राई, वरिष्ठ साउन्ड इन्जिनियर छिरिङ भोटे, निर्देशक दुर्लभ जन्तरे (वुद्धिराज राई), मोडल अनिश सिङ्जाली मगर, बालकलाकार रायल राई, छायाँकार तथा सम्पादक इसाक जबेगु, क्यामेरा सहयोगी दुर्गाप्रसाद राई, गिटारिस्ट राजिव बैजु, मादल वादक विक्रम राई, तथा अक्टाप्याड वादक विक्रम गुरुङलाई पनि प्रमाणपत्र दिइएको थियो ।