काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले फुटबल एकेडेमी संचालन गर्ने भएको छ । फुटबल एकेडेमी संचालनका लागि मछिन्द्रले आइतबार पिस पोइन्ट बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । मछिन्द्रले पिस पोइन्टसँग ६ वर्षको सम्झौता गरेको छ । एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
मछिन्द्र एकेडेमी संचालन गर्ने विभाग बाहिरका पाँचौं क्लब बनेको छ । मछिन्द्रका अध्यक्ष सुनिल कपाली र पिस पोइन्टका प्रिन्सिपल इशु गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरे ।
सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरि १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाईका लागि छात्रवृत्ति प्रदान गर्ने छ । दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुने छन् । जसमा १४ खेलाडी क्लबको रहने छन् ।
यस अघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एपीएफ , पुलिस क्लब तथा मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, न्युरोट टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी संचालनको लागि सम्झौता गरिसकेको छ । एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रम अनुसार मछिन्द्रले एकेडेमी संचालनमा ल्याउन लागेको हो ।