ओखलढुंगा– चिशंखुगढी गाउँपालिकाका कोरोना संक्रमितलाई औषधिलगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन तथा विपद व्यवस्थापन समिति ओखलढुंगाको सहयोगमा गाउँपालिका वडा नम्बर १, २ र ३ का संक्रमितहरूलाई ९ थान अक्सिमिटर, १० सेट स्वास्थ्य सामग्रीको प्याकेज, ५०० थान मास्क र ५ लिटरका दरले सेनिटाइजरलगायत औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
संक्रमितको श्वास प्रश्वासको लेबल नाप्ने अक्सिमिटर, मास्क, सेनिटाइज, फेस सिल्ड, औषधिलगायत औषधि तथा स्वस्थ्य सामग्रीसहित नेपाली कांग्रेस क्षेत्रीय समितिका सचिव गोपालमान थापा नेतृत्वको टोली गाउँमा पुगेर सामग्री संक्रमितलाई उपलब्ध गराएको हो ।
कोभिड–१९ अनुगमन तथा विपद व्यवस्थापन समितिका सदस्य रामचन्द्र कार्कीलगायत समितिका सबैले रकम संकलन गरी अत्यावश्यकीय सामग्री खरिद गरी वितरण गरेको समितिका संयोजक सर्वधन तामाङले जानकारी दिए ।
चिशंखुगढी गाउँपालिकाको कुइभिर, पोखरे र दियालेमा केही दिनयता संक्रमण उल्लेख्य वृद्धि भइरहेको र स्थानीय सरकारले समेत उचित ध्यान नदिएको गुनासाहरू स्थानीयबाट आएपछि तत्काल समितिका तर्फबाट आवश्यक स्वास्थ्य सामग्रीहरू व्यवस्थापन गरिएको हो ।
गाउँमा अक्सिमिटर उपलब्ध गराएपछि त्यहाँका संक्रमितहरूको नियमित अक्सिजन लेबल परीक्षण गरी आवश्यक थप उपचारका लागि योजना बनाउन सकिने सामग्री वितरणका क्रममा वडा अध्यक्षहरूले बताए । यस किसिमका सामग्रीले संक्रमितहरूलाई थप राहत र मनोबल बढ्ने भएकाले आफूहरूले यस किसिमको प्रयास गरेको क्षेत्रीय सचिव थापाको भनाइ रहको छ ।
नागरिकको समस्या हेरे आगामी दिनमा समेत समितिले जिल्लाभरि नै यस किसिमका सहयोगहरू निरन्तर गर्ने योजना रहेको क्षेत्रीय सचिव थापाले जानकारी दिए ।