काठमाडौं– कोरोना महामारीका कारण सरकारले छायांकन अनुमति नदिए पनि निषेधाज्ञा खुकुलो भएसँगै एकपछि अर्को चलचित्र छायांकनमा निस्किरहेका छन् । छायांकनरत फिल्मलाई प्रहरी प्रशासनले रोकथोक पनि गरेको छैन । भदौबाट अरु केही फिल्मको पनि छायांकन सुरु हुँदैछ । कोरोनाको दोस्रो लहर फैलिएको भन्दै निषेधाज्ञा जारी भएपछि केही फिल्म छायांकनमै रोकिएका थिए ।
जारी निषेधाज्ञाका बीच नेपाली कथानक चलचित्र ‘लाइफ इन एलए’ को छायांकन सम्पन्न भएको छ । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘लाइफ इन एलए’ को सुटिङ प्याकअप भएको हो । सरकारले फिल्म छायांकनका लागि अनुमति नदिए पनि चलचित्रको निषेधाज्ञा खुकुलो पारिएको मौका छोपेर छायांकन सम्पन्न गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रको निर्माण टिमका अनुसार गत आइतबार पोखरामा अन्तिम दृश्य कैद गरिएको छ । १९ दिन अमेरिकामा र १० दिन नेपालमा छायांकन भएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । सम्पूर्ण छायांकन सकेर निर्माण टिम राजधानी फर्किएको छ ।
चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, अकेशा विस्ट, व्यास बिस्सु, जेरेड विलप्स, वुद्धि तामाङ, विष्णु गौतमलगायतको अभिनय छ । वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता र संसार सुवेदी कार्यकारी निर्मातामा छन् । चलचित्र आगामी दशैंको मौकामा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु भइसकेको छ ।
एलिस कार्कीको संगीत, बाबु श्रेष्ठ÷क्रिस वारेनको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको यो फिल्मबाट अकेशा ६ वर्षपछि अभिनयमा फर्किएकी छन् । म्युजिक भिडियोमा काम गरिरहँदा चलचित्र ‘जिन्दगी रक्स’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । फिल्मको छायांकनका लागि उनी गत हप्ता नेपाल आएकी थिइन् ।