काठमाडौं– नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता ‘महानायक’ राजेश हमालको नाममा चलचित्र निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा चलचित्र बनाउने घोषणा गरेका हुन् । तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय हमाललाई उनका प्रशंसकहरूले ‘महानायक’ को उपाधि दिएका छन् । यद्यपि यस उपाधिका बारेमा बेला–बेलामा विवाद पनि सिर्जना हुने गरेको छ ।
‘म राजेश हमाल’मा उनी आफैँ चाहिँ अतिथि भूमिकामा रहने बताइएको छ । यस विषयमा अन्तिम निर्णय भने भइसकेको छैन । निर्माण टिमले राजेश हमालसँग यस विषयमा केही चरणमा कुराकानी भइसकेको जानकारी दिएको छ । तर, कागजी सम्झौता भने भएको छैन । राजेशले निर्मातासँग बिहीबारसम्मको समय मागेको बताएको छ ।
चलचित्रको नामको विषयमा पनि राजेश हमालले बिहीबार नै अन्तिम निर्णय दिनेछन् । मौखिक रूपमा नाम प्रयोग गर्ने सहमति भए पनि कागजी सम्झौता हुन बाँकी रहेको निर्माता भुषालले बताएका छन् । विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।
निर्माता भुषालले फिल्म राजेश हमालको जीवनीमा आधारित नहुने बताए । उनले भने, ‘उहाँको नाम लिएर फिल्म बनाउन लागेका हौँ । क्यारेक्टरको मोटिभ पनि उहाँसँग नै मिल्छ । तर, उहाँको जीवनी नै बनाउन लागेका चाहिँ होइनौँ ।’ २० भदौदेखि धनगढीबाट छायांकन सुरु हुन लागेको फिल्ममा अतिथि भूमिकाका लागि अभिनेता आर्यन सिग्देललाई पनि प्रस्ताव गरिएको छ ।
राजेश हमालको नाममा पहिलो पटक चलचित्र बन्न लागेको भने होइन । यसअघि २०११ मा ‘मेरो राजेश दाइ’ नाममा चलचित्र बनेको थियो । यसमा उनी स्वयं मुख्य भूमिकामा थिए । पछिल्लो रिलिज चलचित्र ‘बागमती र शकुन्तला’ को असफलतापछि अभिनयबाट निस्क्रिय देखिएका उनले गत वर्ष फिल्म ‘सत्यम्’ साइन गरेका थिए । तर, कोरोनाले गर्दा यो चलचित्र छायांकनमा निस्कन भने सकेको छैन ।