नेपालगञ्ज/सामाजिक सद्भाव प्रबद्र्धन तथा अभिबृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएकोछ ।
सामाजिक सद्भाव मूल समिति नेपालगञ्जको आयोजना र बासको सहकार्यमा साउन ६ गते सम्पन्न सामाजिक सद्भावका लागि अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले व्यवहार परिवर्तन नभए सम्म सामाजिक सद्भाव कायम गर्न नसकिने बताईन् । समाजको आवश्यकता अनुसारको कार्य र स्थानीयको संलग्नता भएमा सद्भाव अभिबृद्धि हुने उनको भनाई थियो ।
नेपालगञ्जलाई सद्भावको शहरको रुपमा परिचित गराउन नेपालगञ्ज उपमहानगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा सामाजिक सद्भाव समिति बारे जानकारी दिँदै समितिका संयोजक नन्दलाल बैश्यले बिबिधतामा एकता भएको नेपालगञ्ज शहरलाई समृद्ध र सद्भाव युक्त शहरको रुपमा परिचित गराउन सबैसँग मिलेर कार्य गर्ने बताए ।
कार्यक्रममा समितिका सल्लाहकार गोपिचन्द्र बर्नवालले समाजका राम्रा कार्यहरुलाई प्रबद्र्धन गरे सद्भाव अभिबृद्धि हुने बताए भने अर्का सल्लाहकार अधिबक्ता लोक बहादुर शाहले सेवाप्रदायक निकायबाट छिटो, छरितो र निष्पक्ष तवरले सेवा प्रदान गर्न सकिएको खण्डमा सद्भाव कायम गर्न सकिने बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य ईन्दिरा शाही, वडानम्बर १४ का वडाध्यक्ष ओमकार मिश्रा, सामाजिक अभियन्ता कृष्णजँग शाह, जिल्ला युवा क्लब सञ्जालका राजन बर्मा, व्यवसायी मिना ढकाल, युवाहरु साहिल अन्सारि, ऋचा लुईंटेल, अजय तामांग, शवनम प्रविन, बृजेश बैश्य, शैलेन्द्र बैश्य, कमला नेपाली लगाएतले समितिलाई सुझाव दिएका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा समिति सदस्य तारा रोकायले स्वागत गरेकि थिईन् । कार्यक्रममा ६० बढिको सहभागिता रहेको थियो ।