काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशको विरोध जनाएका छन् ।
मंगलबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले विभाजन गर्नका लागि ल्याइएको अध्यादेश भन्दै यसलाई एमालेका आमनेता तथा कार्यकर्ताले अस्विकार गर्ने बताए ।
उनले माधव नेपालले दल विभाजन गर्ने उद्देश्य राखेको सुनाउँदै एमालेको सच्चा कार्यकर्ता हो भने कोही पनि एमाले विभाजनको पक्षमा नलाग्ने टिप्पणी गरे । उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको इतिहास नै टुटफुटको रहेको सुनाए । उनले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सरकारले जतिसक्दो चाँडो उद्धार गर्नुपर्ने पनि माग गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले आफूहरू नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको खुलासा गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनले यस्तो बताएका हुन् । उनले आफूहरू उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गरिने जानकारी दिएका हुन् ।
उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोमा स्वागतसमेत गरेका छन् ।
उनले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने बताएका छन् । उनले भने, ‘नेपाली जहाँसुकै भएपनि सरकारको यो प्रथम कर्तव्य हो, त्यसको उद्धार र राहत गर्ने दायित्व हो ।’
अफगानिस्तानबाट आज मात्रै सयौँको संख्यामा उद्धार गरेर ल्याइएको तथ्यांक सुनेको उल्लेख गर्दै अझै त्यहाँ रहेकाहरूलाई पनि उद्धार गर्नुपर्ने उनको भनाइ छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानसम्मत रहेकाले यसमा कसैको पनि विरोध नरहने स्पष्ट पारेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने पनि जानकारी दिए । त्यस्तै, उनले अफगानिस्तामा फसेका नेपालीहरूलाई तत्काल उद्धार गरिने कार्यको पनि थालनी भइसकेको जनाए ।
भारतका लागि पूर्वनेपाली राजदूत डा. दुर्गेशमान सिंहले पनि सरकारले अफगानिस्तानबाट छिटोभन्दा छिटो नेपालीहरूलाई उद्धार गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि सरकारले आवश्यक कूटनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ । अफगानिस्तानको विकसित घट्नाबाट पनि नेपालले सिक्नुपर्ने भन्दै स्थिरताका लागि पार्टी बलियो बनाउनुपर्नेमा जोड दिए ।