काठमाडौं– कोरोना भाइरसको महामारीका कारण पछिल्लो दुई वर्षयता नियमित रूपमा भइरहेको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू प्रभावित भएका छन् । अधिकांश जात्रा, तथा मेलाहरू औपचारिकतामा सीमित गरिएको छ । विभिन्न धार्मिक स्थलहरू पनि बन्द गरिएका छन् । भक्तजनको भीड हुँदा कोरोना संक्रमण तीव्र रूपमा फैलनसक्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।
कोरोना महामारीकै कारण कीर्तिपुरमा विशेष महत्वका साथ मनाइने बाघभैरव जात्रा यसवर्ष पनि स्थगन गरिएको छ । धार्मिक एवं सांस्कृतिक रूपले महत्वको कीर्तिपुरको मध्यभागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयबासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन् । कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यको भनाइ छ । उच्च भागमा अवस्थित रहेका कारण मन्दिर परिसरबाट काठमाडौँ उपत्यकाको एकसाथ दृश्यावलोन गर्न सकिने भएका कारण यस स्थानको गरिमा र महत्व अझैँ बढाएको छ । पूर्व र पश्चिम लाम्चो डुंगाको आकारमा देखिने प्राचीन बस्ती कीर्तिपुरको मध्यभागमा अवस्थित बाघभैरव मन्दिरलाई काठमाडौंका विभिन्न स्थानबाट पनि देख्न सकिन्छ । शाक्यका अनुसार कीर्तिपुरवासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको १ भदौ सिंह संक्रान्तिका दिन मनाउने प्रचलन छ । जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गराइने र आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियाली साट्ने प्रचलन छ । १ भदौमा बाघभैरवको मूर्तिलाई स्नान गराएर विशेष पूजाआजा गर्ने प्रचलन प्राचीनकालदेखि हुँदै आए पनि खटजात्रा गर्ने प्रचलन भने ०१३ सालदेखि सुरुआत गरिएको हो ।
बाघभैरव जात्राका दिन बाघभैरवको मन्दिर एक सय आठपटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास छ । कोरोना कहरका कारण यस पटक भने बाघभैरव जात्रा स्थगित गरिएको हो । बाघभैरवको मन्दिर शिवदेवले बनाए पनि तर मूल माटाले बनेको गर्भमा रहेको मूर्ति कसले बनायो भन्ने विषयमा धेरै किंवदन्ती पाइन्छ ।
एक किंवदन्तीअनुसार परापूर्वकालमा दानासुर राक्षसले उपत्यकाका मानिसलाई निकै दुःख दिएको कुरा द्वारिकाका कृष्णले थाहा पाएछन् । उपत्यकाका मानिसले दुःख पाएको थाहा पाएर यस क्षेत्रमा आएर दानासुरको वध गरी त्यहाँका जनताको रक्षाका लागि बाघभैरवको स्थापना गरेको मत छ । त्यस्तै अर्को किंवदन्तीमा उत्तरतर्फको बस्तीका गोठाला यहाँस्थित जंगलमा पशु चराउन जाँदा एक दिन उनीहरूले माटाको खेलौनाका रूपमा बाघ बनाएछन् । त्यसमा जिब्रो हाल्नका लागि पात खोज्न गएका बेला त्यही बाघमा शक्ति उत्पन्न भई चराउन ल्याएका सम्पूर्ण गाईवस्तु खाइदिएछ । गाईवस्तु खाइदिएको रिसले केटाकेटीले सधैँ आँ गरी बस्न परोस् भन्ने सराप दिएछन् र मुखमा जिब्रो पनि राखेनछन् । त्यसैले पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको विश्वास गरिन्छ । अहिले पनि यहाँ रहेकोे बाघको मूर्तिमा जिब्रो छैन ।
शाक्यका अनुसार यहाँको बाघभैरव मन्दिरको जीर्णोद्धार समयसमयमा गर्ने गरिएको छ । नेपाल संवत् ६३५ मा ललितपुरका राजा जगतपाल बर्माले मन्दिरको जीर्णोद्धार गरेको पाइएको जनाउँदै उनले ०२४ सालमा राजा महेन्द्रले जीर्णोद्धार गर्न लगाएको जानकारी दिए । त्यसबेला मन्दिरको माथिल्लो छानामा तामाले छाइएको थियो । त्यस्तै यसवर्ष रु. ७० लाखको लागतमा मन्दिरको दोस्रो छानो पनि झिँगटी हटाएर तामाले छाइएको छ ।