काठमाडौं– विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्ने उपाय भनेको स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने हो । त्यसबाहेक कोरोनाविरुद्धको खोपले शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्नसक्ने भन्दै विश्व नै खोपमा केन्द्रित भइरहेको छ ।
नेपालमा पनि विभिन्न कम्पनीका खोपहरूका आइरहेको छ । विभिन्न उमेर समूहका व्यक्ति र कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका व्यक्तिहरूलाई प्राथमिकताका आधारमा खोप लगाउने कार्य भइरहेको छ । त्यसबाहेक विभिन्न क्षेत्रले पनि सरकारसँग खोप माग गरिरहेका छन् । निषेधाज्ञाका बीच मुलुकको आर्थिक अवस्था अस्तव्यस्त बनेको भन्दै विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरूले पूर्ववत् दैनिकीमा फर्किनका लागि खोप माग गरेका हुन् ।
केही समयअघि सरकारले चलचित्रकर्मीहरूलाई खोप उपलब्ध गराएका थिए । त्यस्तै, सरकारले लोकदोहोरी कलाकारहरूलाई पनि कारोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । सरकारले करिब दुईसय लोकदोहोरी कलाकारहरूका लागि खोप उपलब्ध गराएपछि सोमबार र मंगलबार कलाकारहरूलाई खोप लगाइएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पहलमा कलाकारहरूले खोप लगाएका हुन् ।
सिभिल अस्पताल नयाँ बानेश्वरमा लोकदोहोरी कलाकारहरूले खोपको पहिलो मात्रा लगाएका छन् । देवी घर्ती, राजु ढकाल, खेम सेञ्चुरी, पुस्कल शर्मा, रमेशराज भट्टराई, दीपक खड्कालगायतका कलाकारहरूले सोमबार खोप लगाएका थिए । लोकदोहोरी क्षेत्रका कतिपय कलाकारहरूले यसअघि नै कोरोनाविरुद्धको खोप लगाइसकेका छन । बाँकी रहेका कलाकारहरूका लागि प्रतिष्ठानले खोपको पहल गरेको थियो ।
नामावली प्राप्त भएअनुसार २ सय लोकदोहोरी कलाकारहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । सोमबार १ सय बढी कलाकारहरूले खोप लगाएका थिए भने बाँकी कलाकारहरूले मंगलबार खोप लगाएको उनले बताए ।
कोरोना महामारीका कारण लामो समयदेखि स्टेज कार्यक्रम ठप्प छ । म्युजिक भिडियोको छायांकन भने भइरहेको छ । खोप लगाएपछि काममा सहजता हुने कलाकारहरूले बताएका छन् ।