काठमाडौं – नेपाली चलचित्रका छायांकार तथा निर्माता भीम राना कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । उनको मंगलबार वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् । ५८ वर्षका उनको उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । उनका दुवै सन्तान अमेरिकामा बस्दै आएका छन् ।
आफ्नो करिअरमा कयौं सुपरहिट चलचित्र खिचेका उनले फिल्म ‘माइली’ को निर्माणसमेत गरेका थिए । उक्त चलचित्र नेपालमा सिनेमास्कोप प्रविधिमा बनेको पहिलो चलचित्र हो । ‘सम्झना’, ‘बरमाला’, ‘राज्य’, ‘निशाना’, ‘लाल सलाम’, ‘लव कुश’लगायतका फिल्ममा उनको छायांंकन छ । चलचित्र विकास कम्पनी बालाजुका सञ्चालकसमेत रहेका रानाले फिल्म ‘माया प्रीति’, ‘मान्छे पुग्यो जूनमा’ गीतमा अभिनेता रवीन्द्र खड्कासँग एकसाथ अभिनय पनि गरेका थिए ।
उनको निधनप्रति फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् । छायांकार गौरीशंकर धुजुले आफूले रानासँग ‘बादल’, ‘सौभाग्य’लगायतका चलचित्रमा सँगै काम गरेको स्मरण गरे । उनले भने, ‘उहाँको नेपाली चलचित्र क्षेत्रमा ठूलो योगदान छ । स्टील क्यामेरादेखि करिअर सुरु गरेर ठूलो चलचित्र, एनएफडिसीको सिईओसम्म भएर काम गर्न‘भएको छ ।’ रानाको निधनमा थुप्रै चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् ।
गायिका देविका बन्दनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘पत्याउनै गाह्रो भयो, नेपाली चलचित्र जगतका वरिष्ठ सिनेमाटोग्राफर तथा निर्माता भीम राना दाई कोरोनासँग लड्दै आज बिहान ८.३० मा रहनु भएन । मलाई चलचित्र माइलीमा गीत गाउने मौका दिनुभएको थियो । हार्दिक श्रद्धाञ्जली दाइ बैकुण्ठबास होस् ।’
उनका छोरा बुधबार नेपाल आउँदैछन् । बुधबार मात्र रानाको अन्तिम संस्कार गरिने बताइएको छ । उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष खड्काले बताए । भीम रानासहित यसै वर्ष नेपाली फिल्म क्षेत्रले थप तीन छायांकार वैकुण्ठ मास्के, जावेद शाह र रामशंकर प्रधानलाई गुमाएको छ ।