काठमाडौं– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण फिल्म हलहरू खुल्ने अझैं निश्चित भइसकेको छैन । लामो समयदेखि हल बन्द हुँदा निर्माण सकिएका फिल्महरूले प्रदर्शनको मिति सार्वजनिक गर्न सकेका छैनन् । केही फिल्मले भने फिल्म रिलिजका लागि डिजिटल प्लेटफर्मलाई रोजेका छन् ।
केही निर्माताले फिल्म थन्काएर राख्नुभन्दा डिजिटल प्लेटफर्ममा रिलिज गर्न उचित ठानेका छन् । कोरोना महामारीकै समयमा ‘हिरो रिर्टन्स’, कोपिला’ र ‘लभ सर्कल’ फिल्म डिजिटल रिलिज भए । अब अर्को फिल्म ‘एक’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने तयारीमा छ । मंगलबार निर्माण टिमले मोसन पोस्टर सार्वजनिक गर्दै फिल्म डिजिटल रिलिज हुने जानकारी गराएको छ । आउँदो २१ असोज घटस्थापनबाट फिल्म डिजिटल रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ ।
सरकारले सिनेमा हल खोल्न अनुमति दिएको खण्डमा फिल्मलाई सिनेमा हलमा पनि रिलिज गर्ने निर्माण टिमको तयारी छ । फिल्म वितरणको जिम्मा जिजिए ग्रुपले लिएको छ । कोरोनाका कारण विश्वभरका फिल्म डिजिटलमा रिलिज भइरहेको समयमा आफूहरूसँग पनि यसको विकल्प नरहेको ‘एक’ का निर्देशक मनोज पण्डितले बताएका छन् ।
युट्युबमार्फत सार्वजनिक गरिएको फिल्मको मोसन पोस्टरमा द्वन्द्व, आक्रोश, बदलाको भाव देखिन्छ । फिल्मको यसअघि नै ‘तड्का–तड्का’ बोलको गीत सार्वजनिक भइसकेको छ । फिल्मको मुख्य भूमिकामा विशाल पोख्रेल छन् । उनले यो फिल्ममा एक गुप्तचरको भूमिका निभाएका छन् । मधेशको मुद्दामा केन्द्रित फिल्मको छायांकन मधेशका फाँटदेखि डोल्पासम्म गरिएको छ ।
निर्देशक पण्डितका अनुसार, यो फिल्म ‘स्पाई थ्रिलर जनरा’ मा छ । उनी निर्देशित यो सातौँ फिल्म हो । राजनीतिक परिचक्रको पेरिफेरिमा घुमेको फिल्ममा प्रमोद अग्रहरी पनि मुख्य भूमिकामा छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापा निर्मित फिल्ममा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल छन् । फिल्ममा प्रमोद खड्काको द्वन्द्व निर्देशन रहेको छ ।