काठमाडौं– नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । गत हप्ता अभिनेताद्वय अनमोल केसी र सौगात मल्ल फिल्ममा अनुबन्ध भएसँगै निर्माण टिमले अरु कलाकारसँग पनि कागजी सम्झौताको प्रक्रिया अगाडि बढाएको छ । यसैक्रममा, पछिल्लो समय अर्का अभिनेता राज कटुवाल फिल्ममा जोडिएका छन् । उनीसँग निर्माण टिमले हालै कागजी सम्झौता गरेको छ ।
निर्देशक मुकुन्द भट्ट र राजबीच गत वर्ष नै मौखिक सहमति भइसकेको थियो । तर, कोरोना महामारीका कारण कागजी सम्झौता हुन सकेको थिएन । फिल्ममा राजको महत्वपूर्ण भूमिका रहने निर्देशक भट्टले बताए । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटीसँग नाम जोडिएपछि चर्चामा रहेका अभिनेता कटुवालले फिल्म ‘लाल्टिन र लीला’ सँगै केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । अब अभिनेताद्वय पुष्प खड्का र अनुपविक्रम शाहीसँग कागजी सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । दुवैसँग मौखिक सहमति भने भइसकेको छ ।
नेपाल, यूरोप, आबुधाबीमा छायांकन हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहने छिन् । ठूलो लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्न पहल गरिने निर्देशक भट्टले बताएका छन् ।
फिल्ममा भिलेनको भूमिकामा बलिउड अभिनेता सोनू सूद वा सुनिल सेट्टीलाई अफर गर्ने तयारीमा निर्माण टिम छ । जसका लागि निर्देशकसहितको टोली चाँडै भारत प्रस्थान गर्दैछ । यद्यपि उनीहरूको संलग्नताबारे भने अहिले नै टुंगो लागिसकेको छैन ।