काठमाडौं – माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ (असोज १७) मा खेल्नेछ ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर ८ (असोज २२) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० (असोज २४) मा खेल्नेछ । प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १३ (असोज २७) मा प्रतिस्पर्धा गर्ने छन् ।