ओखलढुंगा– पछिल्लो समय ओखलढुंगाको दुर्गम गाउँमा रहेको सामुदायिक विद्यालय चौतारा माध्यामिक विद्यालयको स्वरूप बदलिएको छ । विद्यालयले सरोकारवालाहरूसँग नियमित वृहत छलफल गरी विगत डेढ बर्ष यता आन्तरिक तथा बाह्य पक्षको सुधार गरेपछि विद्यालयको स्वरूप बदलिएको हो ।
सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याउँने चलन चलिरहँदा विद्यालयको स्वरूप बदलिए पनि सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण बदलिएको छ । पहिला पहिला विद्यालयमा आएर शिक्षकलाई गाली गर्ने अभिभावक अहिले विद्यालयलाई के सहयोग गरौँ भन्दै आउन थालेका छन् । विद्यालयले सुरु गरेको १ करोड बचत गर्न खडा गरेको कोषमा दैनिकजसो गाउँबस्तीका अभिभावकले रकम जम्म गरिरहेका छन ।
०४५ सालमा स्थापना भई ०७० सालबाट प्रस्तावित माविका सञ्चालन भएको यस विद्यालयले चालु शैक्षिक सत्रबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वीकृतिमा तीनवर्षे कम्प्युटर डिप्लोमा र सुनकोसी गाउँपालिकाको स्वीकृतिमा कक्षा ११ को पठनपाठन सुचारु गर्न तयार गरेको विद्यालयका सूचना अधिकारी हरिबहादुर भुजेलले जानकारी दिए ।
विद्यालयको आन्तरिक व्यवस्थामा व्यापक सुधार गरेर भौतिक तथा सामाजिक पक्षको सुधार देखिने गरी गरिएको छ । विद्यार्थी र अभिभावकसँग निरन्तर सम्पर्क समन्वय गर्दा सबैको माग चालु शैक्षिक सत्रबाट कम्प्युटर डिप्लोमा र कक्षा ११ सुरु गर्न सल्लाह र सुझाव प्राप्त भएको प्रधानाध्यापक कमलबहादुर कट्वालले जानकारी दिएका छन् ।
यसलाई नै विद्यालयले लामो समयको छलफल, बहस र तयारीपश्चात विद्यालयले सिटिइभिटीको सम्बन्धन लिएर तीनवर्षे कम्प्युटर डिप्लोमा र सुनकोसी गाउँपालिकाको स्विकृतिमा साधारण धारतर्फ कक्षा ११ सञ्चालन सुरु गर्न लागेको प्रधानाध्यापक कट्वालले बताए ।
विद्यालय अपग्रेड गर्ने मात्र हाइन, विद्यालयको व्यवस्थापकीय पक्षमा व्यापक सुधार गरिएकाले २५ लाखभन्दा बढी रकम सहयोगबापत जम्मा गरेर विद्यालयको भविष्य निर्माण गर्न लागिपरेको अभिभाक संघका अध्यक्ष केसरबहादुर तामाङले बताएका छन् ।
सुनकोसी गाउँपालिकाको केन्द्रनजिक रहेको विद्यालयमा भौतिक सरसफाई काम कामलाई पनि महत्व दिएको छ । विद्यालयका शिक्षकहरू अहोरात्र खट्दै आएका छन् । दुर्गम बस्तीमा सोलार बत्तीबाट ४० थान कम्प्युटर दिनभर चल्ने व्यवस्था मिलाइएको छ । विगत वर्षहरूमा अभाव नै अभाव झेलिरहेको विद्यालयले फर्निचरलगायत व्यवस्थापनमा जनश्रमदान जुटाइरहेको छ ।