काठमाडौं– ‘बोस्टर इन्टरटेन्मेन्ट अवार्ड–२०२१’ बाट पत्रकार गोकर्ण बराल सम्मानित भएका छन् । तेस्रो संस्करणमा आयोजित समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले ख्याति कमाएका कलाकार, पत्रकार, व्यवसायी, समाजसेवीलगायतलाई अवार्ड प्रदान गरेका थिए । हालै काठमाडौंमा आयोजित एक सार्वजनिक समारोहबीच उक्त अवार्ड कार्यक्रममा बराललाई सम्मान गरिएको थियो ।
विगत १५ वर्षदेखि निरन्तर रूपमा उत्कृष्ट सेवा गरेबापत बराललाई नेपाली पत्रकारिता विधामा पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । सो अवसरमा पत्रकारिताको माध्यमबाट नेपाली चलचित्र, नाटक, गीत÷संगीतलगायतका कला संस्कृतिसँग जोडिएका विभिन्न क्षेत्रको प्रवद्र्धन र विकासको लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार बरालको चर्चा गरिएको थियो ।
प्रमुख अतिथि डा. महतले उत्कृष्ट सेवा गरेका व्यक्तित्वहरूको सम्मान गर्ने संस्थागत परिपाटीबाट देशको गरिमा बढ्ने बताएका थिए । कार्यक्रममा लोकप्रिय लेखक भीष्मराज फुलारा, शीर्ष गायन कलाकार शिव परियार, द्वन्द्व निर्देशक हिमाल केसी, चर्चित हाँस्य कलाकार शेखर खनाल, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेलगायतका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
यसअघि विदेशमा आयोजना गरिँदै आएको अवार्ड कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाएर नेपाली भूमिमा नै आयोजना गरिएको आयोजकले बताएको छ ।