काठमाडौं– नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै चलचित्र निर्माण तथा छायांकनको क्रम सुरु भएको छ । कोरोना महामारीपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो पारिएसँगै चलचित्र छायांकनको काम थालिएको हो । सरकारले चलचित्र छायांकनको लागि अनुमति नदिए पनि निर्माता तथा निर्देशकहरू चलचित्र निर्माणमा जुटेका छन् ।
यसैक्रममा पछिल्लो समय केही चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । केही दिनअघि ‘लाइफ इन एलए’को पनि छायांकन सम्पन्न भएको थियो ।
निषेधाज्ञाकै बीच चलचित्र ‘आँधी तूफान २’ को पनि सुटिङ प्याकअप गरिएको छ । बुधबारबाट चलचित्रको छायांकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिएका छन् ।
कोरोना महामारीका कारण यस चलचित्रको छायांकन दुई चरणमा गरेर पूरा गरिएको हो । ‘निषेधाज्ञा अगाडि ७ दिनमात्र छायांकन गर्न पाएका थियौँ । अहिले २४ दिन गरी ३१ दिनमा छायांकन पूरा गरेका छौँ,’ उनले भने, ‘चलचित्रलाई राम्रो बनाउन हामीले कुनै कुरामा सम्झौता गरेका छैनौँ ।’
धुलिखेल र काठमाडौंमा चलचित्रको छायांकन गरिएको निर्माण टिमले जानकारी दिएको छ । मौनताका अनुसार एउटा गीतको छायांकन गर्न भने बाँकी छ । काठमाडौं बाहिर गीतको छायांकन गरिने श्रेष्ठले बताए ।
मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तूफान–२’मा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, सञ्जय खतिवडा, सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।
चक्र घर्ती मगर निर्माता रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहेको छ । ‘आँधी तुफान २’ ले एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा भन्नेछ ।
०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो । ‘आँधी तूफान’लाई दर्शकले रुचाएका थिए । सोही चलचित्रको सिरिजको रूपमा निर्माण गरिएको ‘आँधी तुफान २’ लाई दर्शकले रुचाउनेमा निर्माणपक्ष विश्वस्त छ । माहोल सहज भएपछि चलचित्र प्रदर्शनमा ल्याईने निर्माणपक्षले जनाएको छ ।