काठमाडौं– चलचित्र क्षेत्रका विभिन्न विधामा काम गर्ने चलचित्रकर्मीहरूको छुट्टा–छुट्टै छाता संगठन छ । तर, म्यूजिक भिडियोको बजारमा बार्षिक करोडौँ रकम लगानी हुने गरेता पनि यो बजारलाई प्रतिनिधित्व हुने गरी संघ/संस्थाहरू नभएको भन्दै म्युजिक भिडियो निर्देशनमा संलग्नहरूको संगठन निर्माण गरिएको छ ।
यो क्षेत्रमा काम गर्ने निर्देशक, निर्माता, प्राविधिक, कलाकारहरूको समस्यादेखि उनीहरूको मूल्यांकनका लागि ठोस कदम पनि नचालिएको महसुस गर्दै विधान कार्कीको अध्यक्षतामा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को गठन गरिएको छ । समाजले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्था स्थापना भएको औपचारिक जानकारी दिएको छ ।
समाजमा १५ जनाको संस्थापन कमिटी रहेको छ । जसमा अध्यक्षमा कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितीय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव हेम प्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह–कोषाध्यक्ष निशान घिमिरे छन् । यस्तै, सदस्यहरूमा शान थापा, समन अधिकारी, गम्भिर विष्ट, अनुप चापागाईँ, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई छन् ।
समाजको सल्लाहाकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदीप पराजुली नियुक्त भएका छन् । यस्तै, समाजका प्रेस सल्लाहकारमा जीवन कुमार पराजुली नियुक्त भएका छन् । कार्यक्रममा समाजका पदाधिकारीहरू तथा सल्लाहाकार सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
यो क्षेत्रलाई थप व्यवसायिक, मर्यादित र व्यवस्थित बनाउन ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन गरिएको अध्यक्ष कार्कीले बताएका छन् । उनले, समाजमा सबै म्युजिक भिडियो निर्देशकहरूलाई समावेश गराउने योजना बनाइएको जानकारी दिए । तर, समाजमा सदस्यता लिनका लागि १५ वटा भिडियोको निर्देशन गरेको हुनुपर्ने प्रावधान तोकिएको छ ।
समाजका महासचिव सुव्रतराज आचार्यले भिडियोमा पनि कथा वाचन शैली सुरूप भएको भन्दै भिडियोलाई दर्ता प्रक्रियामा लगेर व्यवस्थित बनाउन चलचित्र विकास बोर्डसँग आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नीतिगत रूपपमा नै अगाडि बढ्न बोर्ड तयार रहेको बताए ।