काठमाडौं– नेपालमा पनि विभिन्न प्रकारका रियालिटी शोहरूले राम्रै चर्चा बटुलिरहेका छन् । विभिन्न फ्रेन्चाइज शोहरू एकपछि अर्को थपिने क्रममा छन् । यस्तै रियालिटी शो मध्येको एक ‘नेपाल आइडलको चौँथो सिजन सुरु हुन लागेको छ ।
डिजिटल अडिशन सम्पन्न भइसकेको शो मा जज प्यानल परिवर्तन गरिएको छ । चौँथो सिजनका लागि नेपाल आइडलको जजिजमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान अनुबन्धित भएका छन् । यसअघि तेस्रो सिजनसम्म न्यूह बज्राचार्य, कालीप्रसाद रिजाल र इन्दिरा जोशी जजका रूपमा थिए । उनीहरू अर्कै शो मा जोडिएपछि नयाँ निर्णायक छानिएको हो ।
निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवं गायक बाँस्कोटाले नेपाल आइडलमा आउने आफ्नो सपना पूरा भएको बताएका छन् । नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा उनले खुसी भएको प्रतिक्रिया दिएका छन् । पोखरेल र मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफूहरू खुसी भएको बताएका छन् ।
होस्टमा आसिफ र रेश्मा
नेपाल आइडल सिजन ४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् । तर, उनको यो प्रवेश होस्टको रूपमा भएको हो । रेश्माले अभिनेता एवं गायक समेत रहेका आसिफ साहसँग मिलेर गायन रियालिटी सोको चौंथो सिजनलाई होस्ट गर्नेछिन् ।
रेश्मालाई टिकटकमा १२ लाख जना फलोअर्स छन् । आसिफ र रेश्माले यसअघि केही म्युजिक भिडिओमा सँगै अभिनय पनि गरेका छन् । म्युजिक भिडिओको चर्चित जोडीलाई अब होस्ट जोडीको रूपमा हेर्न पाइने भएको छ ।
सो निर्देशक सुरेश पौडेलका अनुसार कोरोना महामारीको कारण यसपटक डिजिटल अडिसन आयोजना गरिएको हो । मंसिर २३ गतेदेखि प्रसारण थाल्ने जनाइएको छ । नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुनेछ ।